सिस्टम बचाउन संसद विघटनःमन्त्री रायमाझी


     एभरेस्ट आवाज    
     पौष १७ गते २०७७ मा प्रकाशित





उर्जा मन्त्री टोपबहादुर रायमाझीले सिस्टम बचाउन संसद विघटन गर्नुपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सिस्टम बचाउनका लागि संसद भंग गरेको जिकीर गरेका हुन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले प्रचण्ड–माधव समूहले बहुमतको दम्भमा प्रधानमन्त्रीलाई हटाएर सिस्टम माथि नै प्रहार गर्न लागेकाले प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षीय नेता रायमाझीले ओलीलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष, पार्टी सचिवालय, स्थायी कमिटी र सांसद पदबाटसमेत हटाउने षडयन्त्र भएको थाहा पाएपछि बाध्य भएर संसद विघटन गरिएको उनले बताए । ‘पार्टीको म्याण्डेट विपरित प्रधानमन्त्रीलाई हटाउन खोजेपछि नया जनादेशमा जाने निर्णय भएको हो’–उनले भने । अबको चुनावमा जितिन्न कि के हो ? भन्ने लाग्यो कि लोभले काम ग¥यो कुन्नी,उनले थपे,‘एउटालाई अध्यक्ष पद चाहियो, अर्कोलाई प्रधानमन्त्री पद चाहियो, त्योपनि अहिल्यै ।’

नेता रायमाझीले संसद विघटन गरेको कुरा (कू) नभएको जिकीर गरे । यो (कू) होईन,उनले भने,‘संसद विघटन अग्रगामी छ, प्रगतिशील छ ।’ उनले प्रचण्ड–माधव समूहले पार्टी एकताको म्याण्डेट विपरित गरेको हर्कत पश्चगामी भएको बताए ।

पूर्व माओवादीसमेत रहेका मन्त्री रायमाझीले आफूहरुलाई पूर्व माओवादीको लिगेसी छाडेको आरोप निराधार भएका बताए । बादल, लेखराज भट्ट, म लगायतलाई अहिले माओवादी लिगेसी छाडेको आरोप लगाइएको छ,उनले भने,‘माधवलाई अध्यक्ष बनाउँदा माओवादी लिगेसी हुने अनि केपी ओली अध्यक्ष भएको पार्टीमा हुँदाचाहिं माओवादी लिगेसी छाडेको हुने ? त्यस्तो हुँदैन ।’

नेता रायमाझीले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि काम गर्न खोजेपनि गर्न नदिइएको दाबी गरे । प्रधानमन्त्रीले गर्न नचाहेर विकास र समृद्धिको काम गर्न नसक्नु भएको होईन,‘उनले भने,‘बरु गर्न नदिइएको हो ।’

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास र समृद्धी नचाहने तत्वले सरकारलाई अप्ठेरोमा पारेका कारण नया जनादेशमा जानुपरेको बताए । उनले बिचार र सिद्धान्तमा फरक नहुँदानहुँदै नेताहरुको पद लोलुपताका कारण पार्टी दुर्घटनामा परेको आरोप लगाए । सौ उनले सरकार प्रमुख र पार्टी प्रमुख को ठूलो बनाउने भन्नेबारेमा अबको पार्टीको महाधिवेसनले टुंगो लगाउनेसमेत बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।