ओलीलाई जनमत पचेन : करण


     एभरेस्ट आवाज    
     पौष १७ गते २०७७ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनमत नपचेको टिप्पणी गरेका छन् । नेकपा प्रचण्ड पक्षको पोखरा महानगर कमिटीको बिस्तारित बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले ओलीलाई जनताले विकास र समृद्धिको आशामा दिएको जनमत नपचेको बताएका हुन् । ‘ओलीमा रहेको स्वेच्छाचारिता र अधिनायकवादी सोंचका कारण जनताले दिएको विश्वासको मतलाई उनले संसद विघटन गरेर लत्याए’–उनले भने ।

नेता करणले ओली बुर्जुवा भएकोसमेत आरोप लगाए । संघीय लोकतान्त्रिक गणतन्त्र मास्न खोज्ने ओली बुर्जुवा भएको उनको आरोप छ । उनले नेपाललाई सिरिया र अफ्गानिस्तान बनाउन खोजिएको भन्दै ओलीले चुनाव नगर्नेसमेत ठोकुवा गरे । ओली नया राजा बन्न खोजिरहेका छन्,उनले भने‘राजालाई त पतन गराएका जनताले ओलीलाईपनि सडकमा लत्याएर सुताउनेछन् ।’उनले लोकतन्त्रको धज्जी उडाउँदासमेत कांग्रेस चुनाव भईहाले कति सिट जितिन्छ कि हारिन्छ भनेर हिसाबकिताव गरेर बसिरहेको आरोप लगाए ।

नेकपा केन्द्रीय सदस्य श्रीनाथ बरालले एमसीसी पास गर्ने ग्राण्ड डिजाईन अनुसार ओलीले पार्टी र संसद विघटन गरेको आरोप लगाए । ओलीको महत्वकांक्षा बुझेर विदेशीले ओलीलाई गोटी बनाएको उनको विश्लेषण छ । उनले संसद पुर्नस्थापना नभए देशमा चुनाव नहुने ठोकुवा गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।