फुटबल टिमको क्लोज क्याम्पबाट विमलसहित १४ खेलाडी बाहिरिए


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७७ मा प्रकाशित




विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा रहेको विमल घर्तिमगरसहित अन्य १४ खेलाडी बाहिरिएका छन्।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक चरणमा बोलाएका ५८ खेलाडीबाट १४ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणका लागि ४४ खेलाडी छनोट गरेका हुन्।

एक महिनाको क्लोज क्याम्पपछि टिममा खेलाडीको संख्या घटाइएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

क्याम्पबाट बाहिरिने खेलाडीहरुमा विमल घर्ती मगर, गोलकिपर देव लिम्बु, अमित तामाङ, रनदिप पौडेल, जय गुरुङ, नितिन थापा, रजत तिवारी, दिपेश आलेमगर, राजेश परियार, प्रेजन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन र विमल राना छन्।

विमल राना र विमल घर्तीमगर राष्ट्रिय टिममा खेलिसकेका खेलाडी हुन्। ट्रेनिङका क्रममा घुँडामा चोट लागेपछि विमल घर्तीमगर यसअघि नै बाहिरिसकेका थिए। उनीसहित विक्रम लामाको उपचार एन्फाले कतारमा गर्ने निर्णय समेत गरिसकेको छ।

यसैगरी घाइते भएका सुमन अर्याल पनि टिम बाहिर रहेको र फिट भएमा मात्र ट्रेनिङमा फेरि सहभागी हुने एन्फाले जनाएको छ। तर, एन्फाले सुमनको चोट कस्तो भनेर खुलाएको छैन।

सन् २०२२ मा कतारमा हुने विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले समूह ‘बी’ को बाँकी तीन खेल २०२१ मा खेल्दैछ। घरेलु मैदानमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलियासँग मार्च महिनामा खेल्नेछ भने जोर्डनसँग जुन महिनामा खेल्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।