बन्द भएको ९ महिनापछि पर्यटकीय गन्तव्य घान्द्रुक खुल्ने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले लगाएको लकडाउनपछि गत चैत ११ गतेदेखि बन्द रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गन्तव्य घान्द्रुक माघ १ गतेदेखि खुल्ने भएको हो ।
अन्नपूर्ण क्षेत्र भित्रको महत्वपूर्ण गन्तव्य मानिने घान्द्रुक माघ १ गतेदेखि खोल्ने निर्णय गरिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । कोभिड संक्रमण घान्द्रुकबासीलाई मात्र नभई पर्यटकलाईसमेत नफैलियोस् भन्ने उद्धेश्यले अहिलेसम्म बन्द राखिएको घान्द्रुक जोखिम केहि न्यूनिकरण भएकाले खोल्न लागिएको समितिका अध्यक्ष किसम गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले शुरुमा कोभिडका कारण डराएर घान्द्रुक नखोल्दा आलोचना भएपनि स्थानिय र पर्यटक बचाउनका लागि आलोचना सहेर भएपनि घान्द्रुक खोल्न हतार नगरेको उनको भनाई छ । तर लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित घान्द्रुकबासी मारमा पर्दै गएकाले अब खोल्नलाई ढिलाई गर्न हुँदैन भन्ने लागेपछि खोल्न लागिएको उनले बताए ।
घान्द्रुक क्षेत्र खोलिएपनि कोरोना भाईरस संक्रमण रोक्नका लागि स्वास्थ्यको प्रोटोकल भने पूरा गरिने बताए । ‘सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, साबुन पानीले हात धुने तथा आवश्यक्ता अनुसार सेनिटाइजरको प्रयोग गर्न अनिवार्य लगाउनेगरी घान्द्रुक क्षेत्र खुल्ला गरेका छौं,’–उनले भने ।
एबिसी पदमार्गको प्रवेशद्वार मानिने घान्द्रुक प्रमुख पर्यटकीय गन्तव्य हो । यो गन्तव्य बन्द हुँदा घान्द्रुक आसपासका क्षेत्रमा जानसमेत समस्या पर्दै आएको थियो । तर अब घान्द्रुक क्षेत्र खुलेसँगै ति क्षेत्रहरुमा पनि जान सकिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले बताए । उनले भने, ‘मौसमले साथ दिएमा अब पर्यटक घान्द्रुक सहित घोरेपानीसम्म पुग्न सक्छन ।’ ‘एबिसीको मुख्य प्रवेशद्वार नै घान्द्रुक थियो । घान्द्रुक बन्द हुँदा सबैतिर गुनासो भयो,’ उनले भने, ‘तर, अब विशेष सतर्कता अपनाएर घान्द्रुक खुलाउने निर्णय गरेका छौ ।’
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले त्यहाँ जाने पर्यटकमा कोभिड भएमा राख्नका लागि आइसोलेसनसमेत बनाएको छ । ३ वटा अट्याच बाथरुमसहितको आइसोलेसन बनाइउको समितिका अध्यक्ष गुरुङले जानकारी दिए । जहाँ कोहिपनि पर्यटकलाई ज्वरो आएमा आइसोलेसनमा राखिने उनको भनाई छ । त्यसरी राखिएको पर्यटकलाई नर्सको निगरानीमा राखिने समितिका अध्यक्ष गुरुङले बताए । विरामीलाई आइसोलेसन घरमै सुप तथा दालभारतको व्यवस्था गरिने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय गन्तव्य घान्द्रुक खुल्ने खुशीको विषय भएको बताए । हामीले पर्यटक आउ भनिरहँदा पर्यटकीय क्षेत्रहरु बन्द छन्,‘पर्यटकीय क्षेत्र बन्द गरेर पर्यटक बोलाउनु भनेको बाटो छेकेर आउ भनेजस्तै हो, त्यसैले यी क्षेत्रहरु खुल्नु पर्छ, घान्द्रुक क्षेत्र खुल्दा हामी खुशी छौं ।’उनले अन्य पर्यटकीय क्षेत्रपनि खुलाउँदै लैजानुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले अब पर्यटकीय गन्तव्य क्षेत्र खुलाउँदै जानु राम्रो हुने बताए । आफूले पहिलेदेखि नै घान्द्रुक खोल्न आग्रह गरिरहेको भन्दै ढिलै भएपनि घान्द्रुक क्षेत्र खुल्दा पर्यटनमा उत्साह थपिने विश्वास व्यक्त गरे ।
पर्यटन पुनरुत्थान समिति गण्डकी प्रदेश संयोजक अग्नीप्रसाद कँडेलले घान्द्रुक क्षेत्र खुल्नु व्यवसायी र पर्यटक दुबैका लागि खुशीको कुरा भएको बताए । अब सँधै कोभिडदेखि डराएर हुँदैन,उनले भने,‘कोभिडसँग जुध्दै पुरानै लयमा फर्किनुको विकल्प छैन ।’ उनले आम्दानी नै नभएपछि भोलि भोकमरीको अवस्था आउने भन्दै त्यो अवस्था आउन नदिन सरकार, नीजि क्षेत्र र आम नागरिक सबै अग्रसर हुनुपर्ने बताए ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले आजसम्म सर्भाइभ ठूलो मानिएपनि अब पर्यटन व्यवसायलाई रिभाइभतिर लैजानुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले संचालन गरेको ‘अपरेसन सभ्यता’ अभियान अन्र्तगत हालसम्म ९६ जनालाई कारबाही…







