वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने


     एभरेस्ट आवाज    
     पौष २१ गते २०७७ मा प्रकाशित




काठमाडौँ र चितवन यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । समूह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो ।

चितवन यसअघि नै समूह ‘बी’ को शीर्षस्थान कायम गर्दै उपाधिको दाबेदार बनेको हो । मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ४० ओभरको खेलमा मकवानपुरले ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनायो । चौहत्तर रनको विजयलक्ष्य काठमाडौँले २० दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

काठमाडौँका लागि इशान पाण्डेले अविजित रहँदै ३२ तथा जितेन्द्रसिंह ठकुरीले १४ रन बनाउनुभयो । यसअघि ब्याटिङ गर्ने क्रममा मकवानपुरका लागि गौरव खड्काले १५ तथा युविन बुढाथोकीले १० रन बनाउनुभयो । बलिङतर्फ काठमाडौँका लागि आरियो पौडेलले पाँच तथा सञ्जम रेग्मीले दुई विकेट लिनुभयो ।

पौडेलले सात दशमलव एक ओभर बलिङ गर्दै एक मेडन राखी १७ रन खर्चेर पाँच विकेट लिनुभएको हो । यस्तै सोमबार नै सम्पन्न अर्को खेलमा भक्तपुरले नुवाकोटलाई आठ विकेटले हरायो । टस जितेर ब्याटिङ गर्दै नुवाकोटले ३८ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन बनायो । नुवाकोटका लागि कप्तान राजेश रिमालले ३६, प्रदीप परियारले १६, आयुश बस्नेतले २१, अभिराज यादवले १४ बनाउनुभयो ।

बलिङतर्फ भक्तपुरका लागि कृष कार्की, सुवास खत्री र सुसान श्रेष्ठले दुई÷दुई विकेट लिनुभयो । एक सय ३६ रनको विजयी लक्ष्य भक्तपुरले ३२ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । भक्तपुरका लागि नवीन यादव र अदित सुवेदीले ६०÷६० रन बनाउनुभयो । बलिङतर्फ नुवाकोटका लागि सकर रावत र अभिराज यादवले एक÷एक विकेट लिनुभयो । ––(रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।