विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पशुपति क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालु रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात सम्पदा निर्माण प्रक्रियामा छन् ।
पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिनुभयो । भूकम्पले क्षेत्रका पशुपति ९० सम्पदामा क्षति पुगेको थियो । गत हप्ता पशुपति क्षेत्रको चन्द्रविनायक मन्दिर पुनःनिर्माण सम्पन्न भएको थियो ।
मन्दिर पुनःनिर्माणपछि आज मङ्गलबार पनि चन्द्रविनायकमा भक्तजनको भीड लागेको छ । चन्द्रविनायकको दर्शन गरेमा छाला एवं घाउखटिरा निको हुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रको जयवागेश्वरी पुनःनिर्माणका लागि साँखु र लुुभुबाट माटो ल्याइने भएको छ । माटो ल्याइने निश्चित भए पनि मन्दिर पुनःनिर्माणका लागि आवश्यक काठको अभाव छ ।
मन्दिर तल्लो भागमा नयाँ काठ राख्नुपर्ने भए पनि बजारमा पाउन नसक्दा पुनःनिर्माणमा समस्या आएको हो । साढे पाँच वर्षअघिको गोरखा भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । तीमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ । हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको जनाइएको छ । – (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





