धादिङ पुग्यो सेनाको एकीकरण पदयात्रा


     एभरेस्ट आवाज    
     पौष २३ गते २०७७ मा प्रकाशित




नेपाली सेनाले सुरु गरेको ‘एकीकरण पदयात्रा’ धादिङ पुगेको छ।

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै ‘एकीकरण पदयात्रा’ त्यहाँ पुगेको हो।

गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा नेपाली सेनाको देवीदत्त गण धादिङलाई हस्तान्तरण गरेको छ।

बुधबार, बोर्लाङबाट हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा पुगेर बास बसेको हो।

चरङ्गेको शान्तिकालीका आधारभूत विद्यालयमा पुगेपछि स्थानीयबासिन्दा र जनप्रतिनिधिको टोलीले सेनाको पदयात्रा टोलीलाई स्वागत गरेको थियो। पदयात्राको टोलीले आज (बिहीबार) कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ¥याङभुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजङ गणलाई दीप र झण्डा हस्तान्तरण गर्नेछ।

दीप र झण्डासहित काठमाण्डौको पल्टन आउँदो २७ गते पृथ्वीजयन्तीका दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने सेनाले जनाएको छ।

गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाण्डौसम्म पदमार्गको दूरी २६ कोश रहेको छ। पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट र वि.सं. १८२५ मा काठमाण्डौ राज्य जितेको र त्यस क्रममा दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाण्डौसम्म ओहोर–दोहोर गरेको इतिहास छ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।