धारामा बरफ जम्दा खानेपानीको समस्या


     एभरेस्ट आवाज    
     पौष २३ गते २०७७ मा प्रकाशित




सिमकोट। चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो ।

चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा बरफ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिनुभयो । घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताउनुभयो ।

“कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घरबाहिर निस्कनसमेत गाह्रो छ र पानीका धारामा बरफ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ”, उहाँले भन्नुभयो । छ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उहाँले बताउनुभयो । ––रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।