निर्वाचनमा ढुक्क भएर होमिन प्रधानमन्त्रीको आह्वान


     रासस    
     पौष २४ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली ।

धनगढी । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

धनगढीमा आज आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गरे ।

प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने निर्णय गरेको हो ।”

प्रधानमन्त्री ओलीले हड्पिएको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नक्शा छापिँदा केहीबाट देशमा कोकोहोलो र असहज स्थिति सिर्जना गरिएको बताए । बाहिर बाहिर राष्ट्रवादी देखिने, भित्रभित्र नक्शा छाप्यो भनेर उखरमाउलो गरेर उठबस गर्नेहरु नक्कली राष्ट्रवादी र पदका लागि लड्ने हुन् ।

प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीमा सिँचाइको व्यवस्थापन गर्न महाकाली नदीबाट दश क्युसेक पानी छाड्ने सहमति भारतसँग केही दिनअघि भएको जानकारी दिँदै परराष्ट्रमन्त्रीको आगामी दिनमा हुने भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई व्यवस्थित बनाउने गरी मूर्त रुपमा कुरा गर्न लागिएको बताए ।

कार्यक्रममा नेकपा सुदूरपश्चिमका संयोजक एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पनि समसामयिक विषयमा बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।