फाइल तस्विर : वामदेव गौतम ।
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागी नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन नेकपाका सबै नेता अपिल गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजकका रुपमा आज अपिल जारी गर्दै उहाँले नेकपाका सम्पूर्ण नेता कार्यकर्तालाई आफू आबद्ध रहेकै ठाउँबाट नेकपाको एकता अभियानका नाममा सङ्गठन खडा गर्न आग्रह गरेका हुन् ।
पार्टी विभाजनमा ढल्केका नेता कार्यकर्तालाई सम्झाउन आग्रह गर्दै उनले कुनै पनि समूहका नेता कार्यकर्तालाई गालीगलौजको शैलीमा विरोध नगर्न पनि अनुरोध गरे। उनले सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउन र एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्न पनि आह्वान गरेका छन् । “यसो गर्नुभयो भने पार्टी र पार्टीका सबै नेतालाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनःएकीकरण गर्न सकिनेछ”, उनले भने ।
एकअर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लङ्घन गर्दै आफ्ना ऐतिहासिक योगदानलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीलाई हसाउने कार्य तुरुन्त बन्द गर्न आग्रह गर्दै उपाध्यक्ष गौतमले पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गरेर पुनर्मिलन गर्न आह्वान गरे । “हजारौँ शहीदको बलिदानबाट विकसित भएको पार्टीलाई मिलेर पुनर्गठन गरौँ, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गरौँ र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्धतिअनुरुप सम्मानजनक ढङ्गबाट हल गरौँ”, उहाँले अपिलमा भनेका छन् ।
पार्टी एकता जोगाउन वा पुनःएकीकरण गर्ने उद्देश्य लिएर आफू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर सबैका सामु खडा भएको उनले उल्लेख गरेका छन् ।
पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेता पुनःएकीकरणको अवस्थामा सामेल नभए लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी नदिने पनि बताए ।
सरकार सञ्चालनको एउटा कार्यकाल र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षत्विक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद् र पीडादायी भएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधको समाधान गर्न नसक्नाका कारण विभाजनउन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो भनेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँएको छ । घरको मूलढोकामा…





