पोखरा उ.वा. संघको मतगणना हुँदै, कसले मार्ला बाजी ?


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित





पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि शनिबार भएको मतदानको मतगणना आज हुँदैछ । पोखरा प्रदर्शनी केन्द्रमा हुने मतगणना विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

संघको शनिबार भएको मतदानमा ७४.९८ प्रतिशत मत खसेको थियो । निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठका अनुसार कुल ३ हजार १ सय ५४ मत मध्ये शनिबार भएको मतदानमा २ हजार ३ सय ६५ मत खसेको छ ।

संघको नया नेतृत्वका लागि नारायण कोईराला र विन्दु कोईराला सुवेदी प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्षका प्रत्यासी नारायण कोईराला निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् भने विन्दु कोईराला सुवेदी निवर्तमान उद्योगतर्फकी उपाध्यक्ष हुन् । २०७३ सालदेखि उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर काम गरेका दुबैले संघमा १४÷१४ वर्ष विताएको दाबी गरेका छन् । बिचमा २ वर्ष संघको अध्यक्षका प्रत्यासी बनेर कोईराला पराजित भएपछि नेतृत्वविहिन् भएकाले आफू उहाँ भन्दा सिनियर भएको सुबेदीको दाबी छ ।

दुबै कांग्रेसी भएकाले पार्टी न्यूट्रल बसेको बताइन्छ । यद्वपी कोइराला प्यानलले पार्टीले आफूहरुलाई सहयोग गरेको दाबी गरेको छ । संघको चुनावमा सँधै पूर्व अध्यक्ष हावी हुँदै आएपनि यस वर्ष उनीहरुपनि मौन बसेका छन् । त्यसैले संघको नया नेतृत्वमा कसले बाजी मार्छ यसै भन्न सकिने अवस्था छैन ।

अध्यक्षका प्रत्यासी कोईरालाको चुनावी जितको प्रमुख आधार उनको प्यानल हो । पदाधिकारीदेखि सदस्यसम्म अधिकांश पुराना अनुहार भएकाले यो प्यानललाई बलियो मानिएको हो । सुवेदीले भने आफू स्वतन्त्र उमेदवार भएकाले बामपन्थीकोपनि भोट आउने दाबी गर्दै आएकी छन् । उसो त महिला सेन्टिमेन्टपनि आफूलाई भएकाले सहजै जित्ने उनको भनाई छ । नेकपामा आएको विभाजनको असर संघको चुनावमा पनि पर्नसक्ने आंकलन गरिएकाले नतिजा कसको पोल्टामा जान्छ भनेर भन्न भने निकै कठीन छ ।

संघको उद्योग उपाध्यक्षमा कोईराला प्यानलबाट चिनुकमारी गुरुङ र स्वतन्त्र उमेद्वार गोकर्ण कार्की चुनावी मैदानमा छन् । वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल उमेदवार छन् सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवार छन् ।

संघको महासचिवमा कोईराला प्यानलबाट वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र सुवेदी प्यानलबाट धनीराम बराल उमेदवार बनेका छन् । उपमहासचिवमा कोईराला प्यानलबाट वर्तमान सदस्य केशवबहादुर खत्री र सुवेदी प्यानलले गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौला, कोषाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान सदस्य बलराम आचार्य तथा सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगाना उमेदवार छन् ।

संघको सदस्यका लागि कोईराला प्यानलबाट कुमारी मुना बास्तोला, दीनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला रहेका छन् ।

सुवेदी प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन ।

संघको बरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन प्रजापति निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, एशोसियट सदस्यमा कोइराला प्यानलबाट उमेदवार भएका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध चयन भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।