जबज र मदन भण्डारीको लाईन केपी ओलीले छाडेको हो, माधव नेपालले होईन : प्रचण्ड


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएकाले संसद पुर्नस्थापना हुने दाबी गरेका छन् । नेकपा गण्डकी प्रदेश स्तरिय बृहद कार्यकर्ता भेला, संघर्ष अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भने,‘तपाईंहरु ढुक्क हुनुस्, संसद पुर्नस्थापना हुन्छ त्योपनि सर्वोच्च अदालतकै फैसलाबाट ।’ उनले संविधान विपरित अदालतबाट संसद पुर्नस्थापना नभए जनताको बलबाट संसद पुर्नस्थापना गर्ने चेतावनी दिए ।

अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा आफूहरु नै भएको र सूर्य चिह्नपनि आफूहरुले नै पाउनेमा आफूहरु ढुक्क रहेको बताए । तपाईंहरु यसमापनि ढुक्क हुनस्,उनले भने,‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हाम्रै हुन्छ, सूर्य चिह्न हाम्रै हुन्छ, दुनियाको कुनै तागतले त्यसलाई हामीबाट खोस्न सक्दैन ।’ उनले थपे,‘नेकपा र सूर्य चिह्न कसको पक्षमा जान्छ त्यतै जानेमा कोहि कोहि हुनुहुन्छ भन्ने सुनेको छु । त्यस्तो दुविधामा बस्नै पर्दैन । यो हाम्रै हो, हामीले नै पाउँछौं, त्यहि भएर छिटो नेकपाको मूलधारमा गोलबन्द हुनुस् ।’

प्रचण्डले नेकपाको मूलधार छाडेर ओली तिर गएकाहरु ३÷४ महिना पछि फर्केर आउने दाबी गरे । मूल घरमा फर्किनलाई लाज नमान्न आग्रह गर्दै उनले भने,‘छोराछोरी बाउआमा छाडेर दिउँसो बाहिर निस्कन्छन्, साँझ परेपछि आखिर आउने मूलघरमै हो, त्यसैले आउन ढिला नगर्नुस् ।’ उनले माओवादीको अवमूल्यन गर्ने ओलीको पछि पूर्व माओवादीका नेता लागेको आश्चर्य व्यक्त गर्दै भने,‘केपी ओलीले माओवादी जनयुद्धलाई कुहिएको फर्सी भन्नु भयो रे, के जनयुद्ध कुहिएकै फर्सी हो ? तपाईंहरुलाई लाज लाग्दैन ? शहीदको रगतले पोल्दैन ? ।’ उनले प्रतिगमनको साक्षी नबस्नसमेत ओलीको पछि लागेका पूर्व माओवादी नेताहरुलाई आग्रह गरे ।

प्रचण्डले केपीको उखान, तुक्का र प्रहसनले नेपाली जनता नझुक्किने बताए । चुनौति दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई, उनले भने,‘तपाईं प्रहसन गरेर, तुक्का भनेर मान्छेलाई उल्लु बनाउँछु भन्ने सोंच्नु भएको छ तपाईंले ? जनतालाई भेंडाबाख्रा ठान्नु भएको छ तपाईंले ? हजारौंको त्याग, बलिदान र तपस्यालाई तपाईंले ठट्टा ठान्नु भएको छ ? जनताले तपाईंको कुरा पत्याउँदैनन् ।’ उनले केपी ओली गणतन्त्र, समावेशी र समानुपातिक विरोधी भएको आरोप लगाए । तपाईं हो गणतन्त्र सम्भव छैन भन्ने तपाईं हो, हामी होइनौं । समावेशी, समानुपातिक चाहिंदैन भन्ने तपाईं हो हामी होइनौं, उनले भने,‘तर तपाईंलाई स्वामित्व भएन, अपनत्व भएन भनेर राष्ट्र र जनतामाथि घात गर्ने छुट जनताले दिनसक्छ ? सक्दैन ।’

उनले अहिले माधव नेपाललाई प्रचण्डको पक्षमा गयो भनेर भन्ने गरेको बताउँदै अगाडि थपे, ‘प्रचण्डको पक्षमा माधव गएको होईन । भन्नलाई त प्रचण्ड माधवमा गयो भन्दापनि हुन्छ । तर त्यस्तो होईन, न माधव प्रचण्डकोमा गएको हो, नत प्रचण्ड माधवको पक्षमा गएको हो, यो त एकताको मर्म र भावना अनुसार अगाडि बढिएको हो ।’

अध्यक्ष प्रचण्डले मदन भण्डारी र जबजको लाईन माधव नेपालले नभई केपी ओलीले छाडेको बताए । समाजवाद उन्मुख जनताको जनवादमा जाने निर्णय गरेर हस्ताक्षर गरेको केपी ओली र मैले नै हो,उनले भने,‘तर उहाँले जनताको जनवाद छोडेको, समाजवाद उन्मुख जनताको जनवादमा हस्ताक्षर गरेको, मदन भण्डारीको योगदानको बारेमा र माओवादी आन्दोलनको उच्च मूल्यांकन गरेको अन्तरमनबाट होईन रहेछ । यो त प्रधानमन्त्री बन्नका लागि केवल राजनीतिक सौदाबाजी गरिएको रहेछ ।’ केपी ओली पतनको बाटोमा हिंडेको भन्दै उनले भने,‘केपी ओलीले कलंकको टीका लगाउनुभयो, यो अब हट्दैन, अब ओलीको पतन हुन जरुरी छ, केपी गुटको अन्त्य गर्न जरुरी छ ।’

प्रचण्डले नेपाली जनतालाई ओलीको निरंकुस कदमबिरुद्ध लड्न अपिल गरे । हिजो तत्कालिन राजाले संसद विघटन गर्दा गिरीजाप्रसादजीले टाउको फुटाउनु भो,उनले भने,‘अब गिरीजापछि माधव, प्रचण्ड, झलनाथ, र नारायणकाजीहरुको टाउको फुटाउने बेला आयो, हामी त तयार छौं, तपाईंहरु हुनुहुन्छ ? ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।