५ महिनामा ४ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो


     एभरेस्ट आवाज    
     माघ १ गते २०७७ मा प्रकाशित




मुलुकमा कोरोना संक्रमण सुरु भएयता उकालो लागिरहेको रेमिट्यान्स बढ्ने क्रम जारी छ।

चालू आर्थिक वर्ष २०७७÷७८ को ५ महिनामा चार खर्ब १६ अर्ब रुपियाँ रेमिट्यान्समार्फत भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको ५ महिनामा अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशन गरेको तथ्यांकअनुसार चालू आवको मंसीरसम्म ४ खर्ब १६ अर्ब ८१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।