जथाभावि मूल्य वृद्धि गर्नेलाई कारबाहीको चेतावनी


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७७ मा प्रकाशित





पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले बजारमा विभिन्न नाममा हुने गरेका मूल्यबृद्धि नियन्त्रण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


गण्डकी प्रदेश सभाको विशेष बैठक एवम् सञ्चार माध्यममा प्रकाशित सुचनाको आधारमा आज पोखराका खाद्यान्न तथा निर्माण सामग्रीका ठूला पसलहरुको अनुगमन गर्दै उनले जथाभावि गरिने मूल्य वृद्धि नियन्त्रण गर्दै दोषीमाथी कारबाही गरिने बताए । “व्यापारिले होलसेल नाफा मूल्य सूचिभन्दा बढी रकममा बिक्री वितरण गरेमा कडा भन्दा कडा कारबाही गरिने छ” उनले भने “बजारमा तोकिएको तौल र गुणस्तरमा कुनै पनि सम्झौता हुने छैन ।”

सरोकारवाला कार्यालयले बजार अनुगमनलाई तिब्रता दिंदै सरकारकारलाई सहयोग गर्नुपर्नेमा जोड दिंदै उनले सत्य तथ्य र वस्तुनिष्ट समाचार सम्प्रेसण गर्न सञ्चार माध्यमलाई आग्रह गरे ।

टोलीले पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित आदर्श स्टोर्स, नारायणी आयत रिफाइन उद्योग र नमस्ते हाईवयर एण्ड सप्लायर्स र पोखरा ८ स्थित के.एल, दुगर्ड ग्रुपको वितरण केन्द्रको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा नापतौलको प्रमाणपत्र प्रयोगशालामा नपाइएको र अनुमति नलिईकन ८० किलोको यन्त्र प्रयोगस्थलमा पाइएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक तथा टोली संयोजक नारायण आचार्यले जानकारी दिए ।

अनुगमनका क्रममा देखिएका पसल सञ्चालकलाई तीन दिन भित्र सामाग्री सहित सम्वनिधत कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउँदै उनले सरोकारवाला कार्यालयको संयुक्त टोलीले आवश्यकता अनुसार अनुगमलाई तिब्रता दिंदै आएको उल्लेख गरे ।

टोलीमा सहभागि उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले छिमेकी मुलुक भारतको किसान आन्दोलनका कारण कतिपय कच्चा पदार्थ आयात हुन नसक्दा खानेतेल बजारमा अभाव हुनुको साथै मूल्य वृद्धि भएको हुँदा आवश्यक कच्च पदार्थ मुलुक भित्रै उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औल्याउँदै बजारमा विभिन्न कम्पनीका खानेतेलमा प्रतिलिटर ३० रुपैया सम्म मुल्य वृद्धि भएको पाईएको बताए ।

अनुगमन टोलीमा उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय, खाद्य निरिक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय लगायत सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।