सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि आह्वान


     रासस    
     माघ ५ गते २०७७ मा प्रकाशित




फाइल फोटो

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल गरेको छ ।

नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त अपिल जारी गर्दै सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि सम्पूर्ण चेतनशील नागरिकलाई आह्वान गरेका हुन् ।

विगतमा भएका कतिपय कमजोरीप्रति सजग हुँदै भविष्यमा नदोहोरिउन् भन्ने कुरामा आफूहरु सचेत रहेको प्रष्ट पार्दै उनिहरुले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा सामेल हुन सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थकलाई आह्वान गरेका छन् ।

“हामी संविधान मान्छौंँ, लोकतन्त्र मान्छौंँ । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रतालगायत सम्पूर्ण नागरिक अधिकार जनताले निर्बाध रुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा अडिग छौँ ।

शक्तिपृथकीकरणको सिद्धान्तलाई हाम्रो संविधानले आत्मसात् गर्दै स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको छ । न्यायपालिकाको स्वतन्त्रतालाई हामी सबैले सम्मान गरेका छौँ”, दाहाल–नेपालद्वारा जारी अपिलमा भनिएको छ, “सर्वोच्च अदालतमाथि हाम्रो विश्वास छ तथापि वर्तमान अवस्थामा जे–जस्ता परिदृश्यहरु देखापरेका छन्, त्यसले अदालत र हामी सबै सजग रहनुपर्ने अवथा उत्पन्न गराएको छ ।”

्अदालतको संविधानसम्मत फैसलाले नेपालको लोकतन्त्रलाई सही मार्गमा अग्रसर गराउने र संविधानलाई सक्रिय पार्ने विश्वास गर्दै उनिहरुले प्रतिनिधिसभा विघटन गर्ने निर्णयसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानसम्मत फैसला दिने विश्वास व्यक्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।