पोखरामा फागुनको पहिलो साता प्रदेशस्तरको पुरुष/महिला भलिबल प्रतियोगिता


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित




पोखरामा फागुनको पहिलो साता गण्डकी प्रदेशस्तरको पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुनको ४ देखि ८ गतेसम्म पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा प्रतियोगिता हुनेछ।

प्रतियोगितामा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट पुरुष तथा महिलाको गरी २२ वटा टिमले प्रतिस्पर्धा गर्ने मंगलबार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रदेशको सम्वन्धित जिल्लाबाट छानोट भएर आउने टोलीलाई प्रतियोगितामा सहभागी गराइने संघले बताएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टिमका लागि बन्द प्रशिक्षणमा राखिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

पराजुलीले भने, ‘प्रतियोगितामा सहभागी जनाउने सम्बन्धित जिल्लाका प्रतिभावान खेलाडीहरुलाई नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशको भलिबल टिम निर्माणका लागि छनोट गरिनेछ। कम्तिमा पनि एक महिने बन्द प्रशिक्षणका पुरुष तथा महिला दुबै टिमका लागि पहिले २४/२४ जना र अन्तिममा १२/१२ जना प्रतिभावान खेलाडीहरु छनोट गरी गण्डकी प्रदेशस्तरीय टिम बनाइनेछ । अन्तिम छनोटमा परेकाहरुलाई ३ महिना बन्द प्रशिक्षणमा राखिनेछ । सोही टिमले पोखरामै हुने आउँदो नवौं राष्ट्रिय खेलकुदका लागि यस प्रदेशबाट खेल्नेछ।’

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुने टिमले ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलगायत उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरले ५/५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

नेपाल भलिबल संघका उपाध्यक्ष डीबी नेपाललीले मुख्यमन्त्रीको नामसँग जोडिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकारले वार्षिक कार्यक्रममै समेटेकोले प्रदेश सरकारबाट पनि भरपूर सहयोग हुने दावी गरे।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति निर्देशक कृष्ण तिमिल्सिनाले प्रतियोगिता मुख्यमन्त्री कप गर्नका लागि मात्र नभई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रतिभा छनोट गर्न अवसर जुरेको बताए । उनले पारदर्शी ढंगले प्रतिभा छनोट गर्न एउटा टेक्निकल कोर टिम नै गठन गर्न आयोजक संघसमक्ष आग्रह गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।