स्याङ्जालाई मौरीमा व्यवसायीक बनाउने


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

स्याङ्जा । मौरी पालन व्यवसायका लागि स्याङ्जा महत्वपूर्ण रहेको भन्दै किसानहरुलाई मौरीका गोला सहित आधुनिक घार अनुदानमा वितरण गर्न थालिएको छ ।

रेशम विकास कार्यक्रम अन्तर्गत स्याङ्जाका २ सय किसानलाई मौरीमा व्यवसायी बनाउन अनुदानमा मौरी वितरण गरिएको हो । रेशम खेतीको अबधारणा सगै यो कार्यक्रमले रेशम खेती सगै मौरी र च्याउ खेतीमा किसानहरुलाई व्यवसायीकरण गराउन लागेपछि किसानहरुमा उत्साह थपिएको छ । मौरी अनुशासित र कर्मशिल प्राणी हो ।

इमान्दार र लगनशिलतामा निर्भर रहने मौरी पालक किसानहरुका लागि रेशम बिकास कार्यक्रमले सुनौलो अवसर जुटाईदिएको छ । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने मौरी पालन व्यवसाय हो । मौरीको संरक्षण गर्न मात्रै सकेमा यो व्यवसायले किसानको मुहार फेरिनेमा कृषि विज्ञहरु बताउदै आएका छन् ।

स्याङ्जामा १२ महिना मौरीका लागि चरनको उपलब्धता भएकाले जिल्लालाई मौरी पालन व्यवसायलाई महत्वपूर्ण मानिएको छ रेशम विकास कार्यक्रम वालिङका प्रमुख विनोद हमालले बताए ।

अनुदानमा पहिलो पटक एक—एक घार दिएर मौरी पालनका लागि सिकाउदै छौ प्रमुख हमालले भने,‘मौरी व्यवसायमा किसानलाई आत्मनिर्भर बनाउन यो अभियानको शुरुवात गरिएको छ ।’ प्राकृतिक र हावापानी राम्रो भएकोले मौरी व्यवसाय फस्टाउन सक्ने सम्भावना देखेर यो कार्यक्रम अगाडी सारेका हौ हमालले भने ।

५० प्रतिशत नेपाल सरकार र ५० प्रतिशत किसानले व्यहोर्ने गरी वितरण गरिएको छ । पहिलो चरणमा स्याङ्जामा ९६ मौरीका आधुनिक घार सहित शेरना जातको मौरी वितरण गरिएको छ ।

यो जातको मौरी नेपालको हिमाल, पहाड र तराईमा काम गर्न सक्ने जात भएकाले स्याङ्जामा पनि वितरण गरेको कार्यलयले जनाएको छ । पराग सेचनमा अत्यन्तै छिटो काम गर्ने र धेरै मह उत्पादन गर्ने यो मौरी जाडो र घाम दुवै सहन सक्ने प्राणी हो । ४२ सालबाट रेशम खेतीको मात्रै काम गर्दै आएको रेशम विकास कार्यक्रम कार्यालयले यो आर्थिक बर्षबाट च्याउ र मौरीमा पनि किसानलाई व्यवसायीक बनाउन लागेको हो ।

रेशम खेती सगै च्याउ र मौरी एक अर्काको परिपुरक व्यवसाय भएकाले यहाँका किसानलाई ३ ओटै उत्पादनमा जोड दिने गरी कार्यक्रम अगाडी बढाएको रेशम विकास कार्यक्रम कार्यालय वालिङ स्याङ्जाका प्रमुख हमालले बताए ।

यो कार्यालय ११ ओटै जिल्ला हेर्नेगरी कृषि स्रोत विकास केन्द्रमा बिस्तार भएको छ हमालले भने,‘बिस्तारै गण्डकी प्रदेशलाई अन्नवालीमा व्यवसायीकरणमा लाग्ने छौं ।’ जसले स्याङ्जा लगायत प्रदेश नै कृषिमा आत्मनिर्भर हुनेछ उनले भने ।

मौरीका घारले हामीलाई व्यवसायीकता तर्फ उन्मुख गर्नेमा ढुक्क रहेको किसानहरुले बताएका छन् । एउटै घारबाट हामी जसरी पनि मौरी व्यवसायीक बन्ने लक्ष्य राखेको स्थानीय किसान ख्यामनारायण रेग्मीले बताए ।

मौरीको ज्ञान नहुदा यो व्यवसायको चासो थिएन उनले भने,‘अब यसको महत्व र उत्पादनबारे सिक्दै जानेछौं ।’ मौरी बालक देखि बृद्ध सम्मले पाल्न सक्ने र मौरीबाट उत्पादन हुने मह बालक देखि बृद्ध सम्म उपयोगी हुनाले पनि मौरी प्रति पछिल्लो समय आकर्षण बढ्दै जान थालेको छ ।

कृषि प्रति किसानलाई आकर्षण बढाउन रेशम बिकास कार्यक्रमले ल्याएको अनुदानको उपयोगिता हुनु जरुरी छ ।

सरकार र किसान विचको साझेदारी अभियानले पक्कै पनि व्यवसायमा अपनत्व हुन्छ भन्ने विश्वास लिइएको छ । यसको अधिकतम फाईदा उठाई किसानले लाभ लिने विश्वास कार्यालयको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।