पोखरा ।
नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीपमा दक्ष बनाउँदै रोजगारीका अवसरसँग जोड्ने लक्ष्यसहित गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसले पोखरामा पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम आयोजना भएको छ। कात्तिक १९ गतेदेखि २४ गतेसम्म अर्थात (७(९ नोभेम्बर) भएको तालिममा ३५ जना नियमितसहित ६० जना सहभागी भएका थिए । सेक्युरिटी सर्भिसेस प्रा.लि.को आयोजनामा भएको तालिम भव्य रुपमा सम्पन्न भएसँगै सो संस्थालाई सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीले आधिकारिक तालिम केन्द्रको मान्यता दिएको छ। तालिम समापनको अवसरमा सीईबीए हंगेरीले तालिम केन्द्रको प्रमाण पत्र प्रदान गरेको थियो । सो अवसरमा तालिममा सहभागीहरुलाई सहभागिताको प्रमाण पत्रसमेत प्रदान गरिएको थियो ।

समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित सीईबीएका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसीले तालिमबाट सहभागीको सीप, कार्यशैली र आत्मविश्वासमा सुधार आएको बताए । नेपाल र हंगेरीबीचको सम्बन्ध विस्तारसँगै नेपाली युवाका लागि अन्तर्राष्ट्रिय अवसरको ढोका खोल्न पनि यस्ता कार्यक्रम सहयोगी हुने उनले बताए ।

सल्युट गोर्खा ट्रेनिङ सेन्टरका संस्थापक राहुल पाण्डेले युरोपेली सुरक्षा अभ्यास र सीप नेपाली युवालाई हस्तान्तरण गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। सुरक्षा गार्ड तथा आर्मीको तयारीमा रहेका युवालाई लक्षित गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा थप उच्चस्तरीय प्रशिक्षण सञ्चालन गर्ने योजनासमेत सुनाएका छन्। जुन निकट भविष्यमै गर्ने उनले घोषणा गरे ।

गोर्खा गार्डका प्रमुख कार्यकारी अधिकृत हिमाल सुवेदीले नेपाली सुरक्षा सेवामा व्यावसायिकता र आधुनिक प्रविधिको प्रयोग बढाउनु तालिमको उद्देश्य रहेको बताए। नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यसहित प्रशिक्षण आयोजना गरिएको उनको भनाइ थियो। कम्पनीले बैंक, विद्यालय, सपिङ मललगायत विभिन्न क्षेत्रमा सुरक्षा सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए।
कम्पनीका निर्देशक इन्जिनियर सागर गौतमले अन्तर्राष्ट्रिय अनुभव र सीपलाई नेपाली सुरक्षा क्षेत्रमा भित्र्याएर सेवालाई थप प्रभावकारी तथा व्यावसायिक बनाउने लक्ष्य रहेको बताए।

तालिमका सहभागी मानबहादुर थापाले प्रशिक्षणबाट आत्मरक्षा, व्यक्ति तथा सवारीसाधनको जाँच, विशिष्ट व्यक्तिको सुरक्षा र मेला–महोत्सवमा भीड व्यवस्थापन गर्ने विषयमा व्यावहारिक ज्ञान प्राप्त भएको बताए। उनले तालिमलाई उपयोगी र उपलब्धिमूलक अनुभवका रूपमा लिएको प्रतिक्रिया दिए।
प्रशिक्षणमा सीईबीए हंगेरीका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसी, प्रशिक्षक यानोस लाउब, डाकोटा सेक्युरिटी रोमानियाका निर्देशक तथा प्रशिक्षक रोबर्ट आन्द्रास र बेलायती सेनाका पूर्व अधिकारी माइकल न्युटन सहभागी थिए।
पाँच दिनसम्म चलेको तालिममा आत्मरक्षा, व्यावसायिक सुरक्षा, अङ्गरक्षकसम्बन्धी सीप, व्यक्ति तथा सवारीसाधनको जाँच, भीड व्यवस्थापन र जोखिम पहिचानलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
सीईबीएका अध्यक्ष जोल्ट केरेस्तेसीद्वारा हस्ताक्षरित प्रमाणपत्रअनुसार गोर्खा गार्डले एकेडेमीको शैक्षिक तथा योग्यता विभागको सुपरिवेक्षण र गुणस्तर नियन्त्रणमा रही नेपाल तथा छिमेकी देशमा क्लोज प्रोटेक्सन अफिसर, बडीगार्ड र सुरक्षा विशेषज्ञसम्बन्धी तालिम सञ्चालन गर्न पाउनेछ।

प्रमाणपत्रमा गोर्खा गार्डका निर्देशक हिमाल सुवेदीलाई सीईबीएको प्रशिक्षक तथा नेपालका लागि सम्पर्क अधिकारीसमेत नियुक्त गरिएको उल्लेख छ।
यस सहकार्यले नेपाली सुरक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको तालिम विस्तार गर्न र नेपाली युवालाई स्वदेश तथा विदेशमा व्यावसायिक अवसर उपलब्ध गराउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीपमा दक्ष बनाउँदै रोजगारीका अवसरसँग…







