आगो बालेर नसुत्न अनुरोध


     रासस    
     माघ ६ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्राधिकरणले घरमा जाडो भयो भनेर झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले विभिन्न जिल्लमा आगो बालेर बस्दा वा सुत्दा कपडामा आगो सल्किएर घटना भएको जानकारी दिए ।

पछिल्लो पटक काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित खड्कागाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भएको छ । सोमबार कोठामा हिटर बालेर सुतेकोमा ओछ्यानमा आगो सल्किँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

यस्तै कैलालीको धनगढीस्थित भन्सार रोडमा एक महिला आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई घाइते भएको जनाइएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ लोकासिङस्थित एक गोठ र भान्सा घरमा अचानक आगलागी हुँदा गोठ पूर्णरुपमा नष्ट भएको र सो क्रममा झण्डै रु चार लाखको क्षति भएको जनाइएको छ ।

अछामको मेल्लेख गाउँपालिका–३ दर्बास्थित एक किराना पसलमा अचानक आगलागी हुँदा पसल, एउटा मेडिकल पसल र एक सिलाइकटाइको पसलमा समेत आगलागी भएको प्राधिकरणले आज जारी गरेको सूचनामा उल्लेख छ ।

गएको वैशाख यता एक हजार ५०० आगलागीका घटनामा ४९ जनाको मृत्यु भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।