प्रधानमन्त्री कप क्रिकेट : गण्डकीको दोस्रो हार


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले दोस्रो हार खेपेको छ।

जारी प्रतियोगितामा ३ खेल खेलको गण्डकीले पछिल्लो खेलमा कर्णाली प्रदेशसँग हारेको हो।

यता, कर्णालीले भने प्रतियोगितामा पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो।

गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो। कर्णालीको जितमा हिमान्सु शाहीले अविजित रहँदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै, विपिन रावलले ४९ रन जोड्दा राज शाहले ३२ रन बनाए । हेमन्त ओली २९ रनमा आउट भए। गण्डकीका विपिन खत्रीले ४ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो। गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। अर्जुन कुमालले ४६ रन जोड्दा कप्तान विपिन खत्रीले ३२ रन बनाए।

विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रनमा आउट भए। कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए। यस्तै, अनुज चुनरा र दिवन पुनले २/२ विकेट लिए। जितसंगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ।

कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ। समूह ’ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मीसँग ८० रनले पराजित भएको थियो । गण्डकीको यो दोस्रो हार हो। गण्डकीले ३ खेलमा २ अंक जोडेको छ। गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।