आज (जनवरी २० तारिख), ७८ वर्षीय जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दै छन्।
स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खानेछन्। चीफ जस्टिस जोन नी रोबर्ट जुनियरले अमेरिकी संसद् भवनको वेस्ट फ्रन्टमा बाइडेनलाई राष्ट्रपतिको शपथ दिलाउनेछन्। त्यसपछि, राष्ट्रपति बाइडेनले ‘इनगरल स्पिच’ दिनेछन्। यसमा अमेरिकी मतदातालाई धन्यवाद प्रदान गर्नेछन्।
भाषणपछि सैन्य टुकडीको समीक्षा गर्नेछन्। गायिका लेडी गागाले त्यहाँको राष्ट्रिय गान गाउनेछिन्। कार्यक्रममा जेनिफर लोपेजको पनि सांगीतिक प्रस्तुती हुनेछ। त्यसपछि बाइडेन र उप–राष्ट्रपति कमला ह्यारिस सहित ‘प्रेसिडेन्ट एस्कर्ट’ मा संसद भवनबाट ह्वाइट हाउस जानेछन्।
अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिइसकेकी छिन्। उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन।
अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्ने भएकी छिन्। सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको ह्यारिसले बताएकी छिन्।
अमेरिकाको सिनेटमा अहिले डेमोक्राटिक र रिपब्लीकन दुवै पक्षका ५०र५० जना सदस्य छन्। ह्यारिस डेमोक्राटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन्। उनीसँगै उनकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। दुवै जनाले आज अर्थात जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लागेका हुन।
शपथ समारोहमा डोनाल्ड ट्रम्प उपस्थित हुने छैनन्। तर, उनको सट्टामा उपराष्ट्रपति माइक पेन्सको उपस्थिती रहनेछ। यसबाहेक पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्ल्यू बुश र बराक ओबामा पनि आउनेछन्। समारोहमा पेन्सको उपस्थितीले पनि सबैभन्दा महत्व राख्छ। पेन्स अमेरिकीलाई यो बुझाउन चाहिरहेका छन् कि ‘रिपब्लिकन पार्टी मात्रै ट्रम्पको दायरामा छैन ।’
कोरोना महामारीका कारण यसपटक अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन। साधारणतया, करिब ३ लाख मानिसहरु सडकको दुबै किनारामा देखिन्थ्यो तर यसपटक यस्तो हुनेछैन। यसपालिको समारोहमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर हजारदेखि १२ सय जनासम्म मानिस सहभागी हुनेछन्।
आफ्ना राष्ट्रपतिको शपथ समारोहमा अमेरिकीले खतरा महसुस गरेको यो पहिलो पटक हो।
किनकि, बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेर पनि सहज रूपमा स्वीकारेनन् भने आफ्ना समर्थकद्वारा हालै अमेरिकी संसद् भवनमै आक्रमण गराए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्युसमेत भयो।
यसैकारण बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन्। अमेरिकाको सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डोनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर ह्वाइट हाउसबाट बाहिरिँदै छन्।
विश्वकै सबैभन्दा शक्तिशाली अमेरिकाको राजधानी वासिङ्टन डीसी हिँजोआज युद्ध क्षेत्रजस्तै बनेको छ । नयाँ राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति हमला ह्यारिसको शपथ ग्रहण समारोहको केही घण्टा अघि मात्रै अमेरिकामा एककाएक अभूतपूर्व दृश्यहरु देखिएका छन् ।
वासिङ्टनमा मात्रै होइन, सबै ५० राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। डोनाल्ड ट्रम्पका समर्थकले संसद् भवनमा गरेको हिंसा पुनः दोहोरिने हो कि भन्ने डरले अझैपनि थुप्रै अमेरिकीहरुलाई सताउन थालेको छ।
संसदतिर जाने सडकमा हज्जारौंको संख्यामा सुरक्षाकर्मीले गस्ती गरिरहेका छन्। शहरका विभिन्न सडकमा रोड ब्लक गरिएको छ। अनुहार ढाकेका हतियारधारी सुरक्षाकर्मीले गाडीको अनुसन्धान गरिरहेका छन् र ट्राफिकलाई बाटो पनि देखाइरहेका छन्।
त्यहाँको मिडिया रिपोर्टअनुसार नेशनल गार्डका २० हजार जवानलाई शहरमा तैनाथ गरिएको छ। यसैबीच, थुप्रै सुरक्षाकर्मीमाथि पनि अनुसन्धान भइरहेको छ। उनीहरुले ६ जनवरीमा संसद भवनमा भएको हिंशामा प्रदर्शनकारीलाई साथ दिएको शंका गरिएको छ।
त्यहाँको मिडिया रिपोर्टमा हतियार प्रयोग गरेर हमला हुने हो कि भन्ने आशंका पनि जताइँदैछ। प्रहरीको गाडीले सडकमा गस्ती गरिरहेको छ र हेलिकोप्टरमार्फत् गतिविधिमाथि निगरानी पनि राखिँदैछ। सडकमा धेरै नै सेतो रङको टेन्ट लगाइएका छन् जुन केही दिनका लागि सुरक्षाकर्मीको घर बनेको छ।
थुप्रै मेट्रो स्टेशन बन्द गरिएको छ र ठूला क्षेत्रमा गाडीको प्रवेशमा प्रतिबन्ध लागेको छ। संसद् भवनलाई जनताका लागि बन्द गरिएको छ। आज, जनता त्यहाँ जान पाउने छैनन्। वासिङ्टनलाई अन्य शहरसँग जोड्ने पूल र नजिकै रहेको भर्जिनियालाई पनि बन्द राखिने त्यहाँको रिपोर्टले उल्लेख गरेको छ।
सिक्रेट सर्भिस यसलाई ‘जिरो फेल मिसन’ भनिरहेका छन् । अर्थात्, कुनैपनि हालतमा गडबडी हुन दिइने छैन। क्यापिटल हिलमा कडा सुरक्षाका लागि ब्यारिकेड्स र चेकपोइन्ट लगाइएका छन्। पूरा संसदलाई ७ फिट अग्लो फेन्सिङले घेरिएको छ । क्यापिटल हिल नजिकैका सडकलाई बन्द गरिएको छ । नेशनल पार्क सर्भिसले पर्यटकका लागि वासिङ्टन मोन्युमेन्टलाई हालका लागि बन्द गरिदिएको छ।
सिक्रेट सर्भिस र फेडरल एजेन्सीबाहेक एड्भान्स इलेक्ट्रोनिक सर्भिलान्स अलर्ट मोडमा छन् । यो व्यवस्था ३० दिनसम्म जारी रहनेछ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







