फोटो एजेन्सी
विश्वकप फुटबल तथा एशियन कप छनोटको बाँकी खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शुक्रबारदेखि पोखरामा बन्द प्रशिक्षण सुरु गरेको छ।
राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा समावेश ३५ खेलाडीले पोखरा रंगशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल मैदानमा साँझ ३ बजेदेखि २ घण्टा अभ्यास गरे।
टोलीलाई राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जन तथा सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराएका थिए।
राष्ट्रिय टोलीले आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) बताएको छ। टोलीलाई नयाँ वातावरणमा ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ।
बिहीबार साँझ पोखरा आएको टोलीमा ३५ खेलाडी र ९ जना अफिसियल छन्। सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एशियन कपको छनोट चरणका अब ३ खेल खेल्न बाँकी छ। नेपालले चाइनिज ताइपेईसँग अगामी चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ।
तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा ३ खेल खेल्नेछ। नेपालले कुवेतसँगको ‘होम म्याच’ भुटानमा खेलेको थियो। छनोट चरणमा नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्। नेपाल छनोट चरणमा तीन अंकसहित समूहको चौथो स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







