काठमाण्डौं । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाण्डौं महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ ।
कार्यक्रमको पहिलो दिन आज टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलिसभा सम्पन्न गरिएको छ । शास्त्रीको श्रद्धाञ्जलिसभा गरिएको सो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाण्डौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।
श्रद्धाञ्जलिसभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताए ।
शुक्रराजको जन्म १९५० सालमा बनासरमा भएको हो । भारतबाटै प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए ।
त्यस क्रममा उनले पटना, दार्जिलिङ, कोलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसकेका थिए । त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए ।
राणाको विरोध गरेको आरोप लगाएर उनलाई १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँचजनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।
पछि पूर्णनारायणको सजायलाई आजिवन कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







