आज प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

- ओलीलाई पार्टीबाटै साधारण सदस्यबाट समेत निष्कासन गर्ने तयारी


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७७ मा प्रकाशित




फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–माधव पक्ष त्यसको विरोधमा सडकमा रहेको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ।

प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ। यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै स्पस्टीकरण सोधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिएका छन्।

स्रोतले भनेको छ, ‘पार्टीले ओलीलाई स्पस्टीकरण सोधेको थियो। तर, उहाँले जवाफ दिनुभएन। त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन। यसअघि अध्यक्षबाट मात्रै हटाइएको थियो, अब पार्टीबाटै हटाइन्छ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।