माघको अन्तिम साताबाट टाइगर कप राष्ट्रिय च्याम्पियनसिप हुने


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित




पोखरा । पोखरामा माघको अन्तिम साताबाट टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघको २७ गतेबाट पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले पोखरामा सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागिय क्लव सशस्त्र प्रहरी बल काठमाण्डौंको महिला तथा पुरुष, त्रिभूवन आर्मी क्लव काठमाण्डौंको महिला तथा पुरुष, नेपाल प्रहरी, काठमाण्डौंको महिला तथा पुरुष, न्यू डायमण्ड एकेडमी, काठमाण्डौंको महिला टोली र गण्डकी प्रदेश, पोखराको पुरुष टोली विच राउण्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरिने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र, द्वितिय हुनेले नगद ७५ हजार मेडल, ट्रफी र प्रमाणपत्र, तितृय हुनेले नगद ३५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई नगद १५ हजार पुरस्कार दिइने छ ।

यस्तै प्रतियोगितामा सफल सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नगद २० हजार, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकरलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।

नेपाल भलिबल संघको समन्वय, पश्चिमाञ्चल भलिबल संघको व्यवस्थापन, राष्ट्रिय खेलकुद परिषदको संयोजन, पोखरा महानगरपालिकाको विशेष सहयोग र सफल दुधको सहयोगमा आयोजना गर्न लागिएको प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने र प्रतियोगिताबाट ५ लाख रुपैयाँ बचत गर्ने आयोजकले अनुमान गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।