पोखरामा फुटसल ‘ए’ डिभिजन लिग हुने


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित




आगामी वर्ष कास्कीको पोखरामा फुटसल ‘ए’ डिभिजन लिग हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा गर्ने जानकारी गराएको हो।

एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता रहनेछ।

वागमती प्रदेशबाट ४, प्रदेश १ र गण्डकी प्रदेशबाट २÷२, प्रदेश–२, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।

लिगका लागि प्रदेश नं १ को छनोट खेल आगामी चैत १ देखि ५ गतेसम्म इटहरीमा, प्रदेश नं २ को छनोट खेल चैत ८ देखि १२ गतेसम्म हेटाँैडामा, वाग्मती प्रदेशको छनोट खेल चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट खेल चैत १९ देखि २३ गतेसम्म दाङमा तथा गण्डकी प्रदेशको छनोट खेल २०७८ साल वैशाख ३ देखि ७ गतेसम्म पोखरामा हुनेछ।

लिगमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्ध क्लब तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा आबद्ध क्लबले सहभागिता जनाउन पाउने एन्फाले जनाएको छ। सो लिगको विजेताले १० लाख पाउनेछ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।