गण्डकी प्रदेशमा पहिलो खोप लगाएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.बुद्धिबहादुर थापाले कोरोनाबिरुद्धको खोप लगाउँदा सामान्य दुखाई बाहेक अन्य समस्या नआएको बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.थापालाई लगाएर गण्डकी प्रदेशमा ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ गरिएको थियो ।
गण्डकी प्रदेशमा कोरोनाबिरुद्धको कोभिशिल्ड खोप लगाउने पहिलो व्यक्ति डा.बुद्धिबहादुरले खोप सुरक्षित भएकाले नडराउन सबैमा आग्रह गरेका छन् । खोपप्रति आश्वास्त बनाउनका लागि नै आफूले खोप लगाएको बताउँदै उनले भने,‘विश्व स्वस्थ्य संगठनबाट सर्टिफाईड भएको र यो लगाएकाहरु सबै सुरक्षित रहेकाले हामी त्रसित हुनुपर्ने कारण छैन ।’ उनले खोप लगाउँदा एन्टि रियाक्सन हुन्छ कि भनेर डराउनु नपर्नेसमेत बताए । अरु खोपजस्तै कोरोनाबिरुद्धको कोभिशिल्ड खोप भएकाले यसमा डराउनु नपर्ने बताए ।
डा.थापाले खोप लगाउँदा सामान्य दुःखाई बाहेक अन्य दुःखाई वा समस्या नआएको बताए । खोप लगाउँदा छ्वास्स कोपेजस्तो मात्र भयो,‘उनले भने,‘त्यसपछि कुनै दुःखाईपनि छैन, टाउको दुख्ने, ज्वरो आउने, थकान हुने लगायतका समस्या पनि छैन ।’ उनले खोप लगाएको केहि समयपछि आफू कार्यालयको काममा फर्किएकोसमेत बताए ।
यसअघी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राङ्गणमा बुधबार पूर्वाह्न आयोजित औपचारिक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.अर्जुन आचार्यलाई कोभिशिल्डको किट हस्तान्तरण गरेका थिए । लगत्तै स्वास्थ्यकर्मीले उप–कुलपति डा.थापालाई कोभिशिल्ड खोप लगाईदिएका थिए । डा.थापालाई खोप लगाएलगत्तै प्रदेशका सबै ११ वटै जिल्लामा कोभिशिल्ड खोप लगाउन शुरु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
खोप शुभारम्भ कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको खोप लगाएर सम्पूर्ण नेपालीलाई सुरक्षित बनाउने प्रधानमन्त्रीको सपना झण्डै १ वर्षपछि पूरा हुन लागेको बताए ।
प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना खोप लगाएर प्रदेशबासीलाई सुरक्षित बनाईने बताईन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले कोभिशिल्ड खोप सुरक्षित रहेको दाबी गरे । यद्वपी लगाउने क्रममा टाउको दुख्ने, ज्वरो आउनेलगायतका सामान्य लक्षण देखिनसक्ने बताए ।
गण्डकी प्रदेशमा पहिलो चरणमा माघ १४ गतेदेखि १८ गतेसम्म खोप लगाइनेछ । पहिलो चरणमा गण्डकी प्रदेशमा १७ हजार ३ सय ९६ जनामा कोरोना भाईरसबिरुद्धको खोप लगाइने सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् । उनका अनुसार पहिलो चरणमा कास्कीमा ५ हजार ६ सय ७१, स्याङ्जामा १ हजार ५ सय ४१, लमजुङमा १ हजार ५ सय ८२, बागलुङमा १ हजार ७ सय ७०, गोरखा १ हजार ८ सय ८, पर्वत १ हजार २ सय ३९, तनहुँमा १ हजार ६ सय ९९, म्याग्दीमा ८ सय ४३, नवलपुरमा १ हजार ५२ तथा हिमाल पारिको जिल्ला मुस्ताङमा २ सय १९ र मनाङमा २ सय ६ जनालाई खोप लगाईनेछ । गण्डकी प्रदेशको सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको जनाइएको छ भने प्रदेश राजधानी पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा खोप लगाउने व्यवस्था गरिएको छ ।
पहिलो चरणमा सरकारी अस्पताल, गैरसरकारी अस्पताल, नीजि अस्पताल र मेडिकल कलेजहरुमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम्सेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाइने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । पहिलो चरणमा खोप लगाएकाहरुलाई २८ दिनपछि दोश्रो खोप लगाइने उनले बताए ।
गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आइसकेको छ । प्राप्त भ्याक्सिन सुरक्षित रुपमा भण्डारण गरिएको र आवश्यक्ता अनुसार वितरणसमेत गरिएको निर्देशक शर्माले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







