सांसदको तलव भत्ता सामाजिक काममा खर्चिदै सांसद विन्दुकुमार थापा


     एभरेस्ट आवाज    
     माघ १४ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले आफूले पाएको तलब भत्ता सामाजिक काम र विकास निर्माणमा खर्चिएका छन् । नेपाली कांग्रेसबाट टिकट पाएर कास्की क्षेत्र नम्बर २ को (ख)बाट निर्वाचित प्रदेश सांसद थापाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुरुप आफूले सांसदको रुपमा प्राप्त गर्ने तलव भत्ता विकास निर्माण र सामाजिक काममा खर्चिएका हुन् ।

सांसद थापाले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा प्राप्त गरेको ८ लाख ५९ हजार ८ सय ६८ रुपैयाँसहित कुल १२ लाख ४७ हजार ४० रुपैयाँ सामाजिक काम तथा विकास निर्माणमा खर्चिएको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

सांसद थापाले पोखरा महानगरपालिका भित्रका विभिन्न वडामा कोभिड १९ का कारण प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, श्रमिक, अपाङ्ग तथा एकल महिला गरी ३३० घर परिवारलाई राहत स्वरुप ४ लाख ९४ हजार ३ सय ४० रुपैयाँ खर्चिएको बताएका छन् । त्यस्तै, हातेमालो नागढुंगा आमा समूह पोखरा ८ लाई २ लाख ११ हजार ८ सय रुपैयाँ बराबरको लोकबाजा तालिम तथा वाद्यवादन सामग्री, रोटरी क्लव अफ पोखरा न्यूरोड मार्फत विभिन्न विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ बराबरको सेनिटरी प्याड भेण्डिङ मेसिन, पोखरा वडा नम्बर ४, ८ र ९ का विभिन्न स्थानमा १ लाख ३५ हजार रुपैयाँ बराबरको अटोमेटिक सडक वत्ती जडान गरिदिएको थापाले जनाएका छन् ।

यस्तै, सांसद थापाले पोखरा २३ स्थित कालिका माविका विद्यार्थीलाई ६० हजार २ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री, सिद्ध बराह युवा क्लवलाई १ ० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री, पोखरा २४ ढिकुरपोखरीमा लगाएको महायज्ञमा १५ हजार सहयोग, पोखरा १६स्थितत ईन्डुअर खेलकुद मैदान तथा बहुउद्देश्यीय भवन निर्माणका लागि २५ हजार ५ सय, सहारा टोल विकास संस्था पोखरा ९ को भवन निर्माणका लागि ३६ हजार, चण्डिका अमा समूह पोखरा ९ खवास टोलमा आमा समूह भवन निर्माणका लागि २५ हजार, श्री कल्याण आधारभुत विद्यालयमा विद्यार्थीलाई ३० हजार बराबरको विद्यार्थी पोसाक सिलाउने ज्याला तिरिदिएको बताए ।

सांसद थापाले कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालय पोखरा २७ मा २५ हजार बराबरको विद्यार्थी पोसाकका लागि ज्याला, कालिका मावि पोखरा २४ कास्कीकोटका विद्यार्थीलाई ११ हजार २ सय बराबरको विद्यार्थीलाई पोसाक, पोखरा २६ खरानीफाँटका बाढी पहिरो पीडितलाई १७ हजार रुपैयाँ बराबरको १२ बोरा चामल, पोखरा १६ छहरेपानीका कृष्णप्रसाद आचार्यको पहिरोले भत्काएको घरको पुर्ननिर्माणका लागि १० हजार, संस्कृत मावि पोखरा १ बगरमा विद्यालय तथा मन्दिर निर्माणका लागि २५ हजार, कास्की जिल्ला बार एशोसियसनको भवन निर्माणका लागि १० हजार, ढोरपाटनका बाढी पहिरो पीडितलाई १० हजार, सूर्योदलय युवा क्लव पोखरा ३ स्थित प्राकृतिक उद्यान पार्क वाचनालयक निर्माणका लागि २० हजार र सिद्धबराह चण्डी र भैरव युवा क्लव पोखरा १६ लाई २१ हजार बराबरको खेल सामग्री प्रदान गरेको सांसद थापाले जानकारी दिए ।

सांसद थापाले कम्युनिष्टको कुशासनका कारण मुलुक अस्थिरता र अनिश्चिततातर्फ उन्मुख भइरहेको पत्रकार सम्मेलनमा बताए । कम्युनिष्टका नेताहरु बाहिर लोकतन्त्रको पाठ पढाउँदै हिंड्ने तर भित्रभित्रै एकतन्त्रीय कम्युनिष्ट अतिवादबाट प्रेरित भएको उनको आरोप छ । सांसद थापाले नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकतन्त्रीय कम्युनिष्ट अतिवाद लाद्दै मुलुकलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाए । ओलीको प्रतिगमनको यात्राले मुलुकको राज्य व्यवस्था र राजनीतिक दलप्रतिको विश्वसनीयता र लोकतन्त्र माथि नै प्रश्नचिह्न उठेको उनले बताए । सांसद थापाले ओलीको असंवैधानिक कदमबिरुद्ध राजनीतिक दल, संघ संस्था, नागरिक समाजलगायत आम जनता एकजुट भएर संविधान र लोकतन्त्रको रक्षाका निम्ति एकजुट हुनुको विकल्प नभएकोसमेत बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।