काठमाण्डौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो ।
एपीएफले दिएको २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्र बनायो । एपीएफका लागि शङ्कर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेलले १९, कमलसिंह ऐरीले १९, कप्तान शरद भेषवाकरले १८ तथा अविनास बोहराले ११ रन बनाए । बलिङतर्फ पुलिसका आरिफ शेखले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।
पुलिस क्लबका लागि ब्याटिङ गर्ने क्रममा पवन सर्राफले सर्वाधिक ४० रन बनाए ।
यस्तै राशिद खानले ३४, ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ तथा सागर ढकालले ११ रन बनाए। बलिङतर्फ एपीएफ क्लबका भुवन कार्कीले चार तथा कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले दुई दुई विकेट लिए ।
एपीएफले अब त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







