पीएम कप क्रिकेटः पुलिसलाई हराउँदै एपीएफ फाइनलमा


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित




तस्बीर: एजेन्सी

एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो।

अब, उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ। बिहीबार हुने दोस्रो सेमिफाइनलमा बागमती र आर्मी भिड्नेछन्।

एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो। पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाए।
यस्तै, राशिद खानले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए। अनिल साहले २१ रन बनाउदा आरिफ शेखले १६ रन जोडे। सागर ढकाल ११ रनमा आउट भए।

पुलिसलाई सस्तैमा समेट्न भुवन कार्कीले ४ विकेट लिए। कमल ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २÷२ विकेट लिए। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो।

एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए। यस्तै, भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए।

सुवास खकुरेल र कमल ऐरीले समान १९र१९ रन बनाए। कप्तान शरद भेषवाकरले १८ रन जोडे। अविनास बोहरा ११ रनमा अविजित रहँदा सूर्य तामाङ १ रनमा अविजित रहे।
पुलिसका आरिफ शेखले ३ विकेट लिए। ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले २÷२ विकेट लिए। एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो।

समूह चरणमा पनि एपीएफले हार व्यहोरेको थिएन। समूह ’ए’ मा रहेको एपीएफले ४ खेलमा ४ जितसहित समूह विजेता बनेर सेमिफाइनल खेलेको थियो।

पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ। पुलिसले समूह ’बी’ को उपविजेता बनेर एपीएफसँगको भेट पक्का गरेको थियो। प्रतियोगिताको विजेताले १० लाख पाउने छ। यस्तै, उपविजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।