तनहुँको व्यास नगरपालिकाको आयोजनामा शुक्रबार आयोजित चौथो व्यास अल्ट्रा म्याराथनमा प्रथम हुन सफल त्रिभुवन आर्मी क्लवका देवराज महतरा । व्यास नगरपालिका५ मानुङकोटदेखि व्यास नगरपालिका८ पुलिमराङसम्मको ४४ किमि दूरी उनले तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पूरा गरे । तस्वीरः कृष्ण न्यौपाने
दमौली। तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले जितेका छन् । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले जितेका हुन्। कालीकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय भएका हुन्।
म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय भएका छन् । राईले सो दूरी तीन घण्टा मिनेट एक सेकेन्डमा र सुनुवारले तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा पार गरेका छन्। द्वितीय हुने राई गत वर्षको विजेता हुन् । म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैँचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो । प्रतियोगितामा २० जिल्लाका १८० धावकको सहभागिता थियो ।
म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौँ, धादिङ, म्याग्दीलगायत जिल्लाबाट धावक सहभागी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँचजनाले रु १६ हजार ७७ नगद पुरस्कार प्राप्त गरेका छन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ ।
गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए । धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिएको थियो । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल एक हजार ७००, व्यास नगरपालिका–८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिएको थियो । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेका हुन् । उनले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका हुन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







