पोखरा महानगरपालिकाले नेपालमै पहिलो पटक किसानलाई ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । महानगरपालिकाले शुक्रबार पोखरामा एक औपचारिक कार्यक्रम गरी ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको हो । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जानकी एग्रो फार्मका सञ्चालक दीपक तिमिल्सिनालाई प्रदान गरेर ‘किसान परिचय पत्र’ वितरणको शुभारम्भ गरेका हुन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसान परिचय पत्र वितरण गर्ने आफूहरु पहिलो पालिका भएको दाबी गरे ।
महानगरले पहिलो चरणमा २ सय ८८ जना पशुपन्छी पालक किसानलाई ‘किसान परिचय पत्र’ वितरण गरेको जनाएको छ । जस अन्तर्गत विशिष्ट कृषक ८ जना, उद्यमी कृषक ५ जना, व्यवसायीक कृषक १३ जना, व्यवसाय उन्मुख कृषक ९८ जना र साना व्यवसायी कृषक १६४ जनालाई किसान परिचय पत्र वितरण गरिएको पोखरा महानगरपालिकाका पशु सेवा विभागका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
किसान परिचय पत्र पाएपछि पोखरेली किसान खुशी भएका छन् । किसान भएरपनि परिचय पत्र नपाउँदा पहिचानविहीन् किसानहरुले परिचय पत्र पाउँदा गर्वानुभूति भएको बताएका छन् । किसान परिचय पत्र प्राप्त गरेपछि प्रतिक्रिया दिदै किसान दीपक तिमिल्सिनाले वर्षौंदेखि किसान परिचय पत्रका लागि लड्दै आएपनि बल्ल अधिकार प्राप्त भएको बताए । ‘लड्दा लड्दा बल्ल बल्ल किसानको पहिचान प्राप्त भयो, हामीले वर्षौंदेखिको लडाईंको प्रतिफल प्राप्त ग¥यौं’–उनले भने ।
किसान परिचय पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले किसान परिचय पत्र किसानका लागि गर्वको विषय भएको बताए । कृषको स्तर मापन गर्नपनि किसान परिचय पत्र चाहिन्छ,‘उनले भने,‘यो किसानको पहिचानपनि हो ।’ उनले किसान परिचय पत्र कृषकलाई पेन्सन वितरण गर्नका लागिपनि उपयोगी हुने बताए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसानलाई किसान हो भनेर किसान परिचय पत्र वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । किसान परिचय पत्र नहुँदा अनुदान बास्तविक किसानले पाउन नसकेको बताउँदै उनले भने,‘अहिलेसम्म सरकार जसको हो त्यहि पार्टी निकटका कार्यकर्ताले कृषि अनुदान लैजानेगरेका थिए, तर यसले त्यसको अन्त्य गर्छ ।’ उनले कृषकहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्दै भने,‘तपाईंहरु उत्पादन गर्नुस्,‘महानगरले उत्पादित वस्तुको न्यूनत मूल्य तोक्छ, त्यस्ता बस्तुको बजार खोज्छ । बजार नपाएर उत्पादित वस्तु खेर गएमा त्यसको क्षेतिपूर्तिसमेत महानगरले दिन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






