अधिकारकर्मीको विरोधपछि फेवाताल किनारमा रेलिङ लगाउने काम रोकियो


     एभरेस्ट आवाज    
     माघ २० गते २०७७ मा प्रकाशित




पोखराको पर्यटकीय केन्द्र लेकसाइडको फेवाताल किनारमा निजी कम्पनीले लगाउन लागेको रेलिङको काम रोकिएको छ । पोखरा महानगरपालिका वडा नं. ६ ले वाराही घाटदेखि पहारी घाटसम्मको करिब २ सय मिटरमा रेलिङ लगाउन स्लास प्लस प्रालिलाई अनुमति दिएको थियो । वडा कार्यालयले पुस ७ गते प्रालिलाई सुरक्षा, सूचना र विज्ञापन झल्किने सामग्री राख्न पाउने गरी रेलिङ लगाउन अनुमति दिएको हो ।

रेलिङ निर्माण गर्ने कार्य रोक्न माग गर्दै मेयरलाई ज्ञापन पत्र बुझाउँदै अधिकारकर्मी

प्रालिले रेलिङ लगाउन थालेपछि स्थानीयले विरोध गरेका थिए । सूचनाको हकका लागि राष्ट्रिय वडा सञ्जाल पोखरा ६ अध्यक्ष अनिल थापा र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल अध्यक्ष विष्णुहरि अधिकारीले महानगरका मेयर मानबहादुर जिसीलाई काम रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

मेयर जिसीले यसबारे आफूलाई जानकारी नआएको उल्लेख गर्दै तत्काल काम रोकिने बताएका थिए । तत्कालका लागि काम रोकिए पनि व्यापारिक स्वार्थका लागि ताल किनारमा रेलिङ लगाउन दिने प्रक्रिया खारेज गरी फेवातालको उचित संरक्षण गर्नुपर्ने राष्ट्रिय सम्पदाका अध्यक्ष विष्णुहरि अधिकारीले बताए । उनले आर्थिक प्रलोभनमा परी सम्पदा दोहन गर्न लागिएको आपत्तिसमेत जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।