टेसा पोखराको नया नेतृत्व ।
ट्रेकिङ ईक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको २३ औं साधारण सभा तथा १३ औ अधिवेशनले नारायण सापकोटाको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । टेसा पोखराको बुधबार पोखराको काहुँडाँडामा सम्पन्न अधिवेशनले सापकोटाको अध्यक्षतामा १० सदस्यीय समिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा प्रमोद भण्डारी, उपाध्यक्षमा रामजीप्रसाद अधिकारी, महासचिवमा टीकाबहादुर लम्साल, सचिवमा टीकाराम लम्साल, कोषाध्यक्षमा महेन्द्र जिसी तथा सदस्यहरुमा रमेशराज अधिकारी, मीलन सापकोटा, केशवराज बाँस्तोला र बुद्धिबहादुर बस्नेत चयन भएका छन् ।
यसअघी समितिको १३ औं अधिवेशन तथा २३ औं साधारण सभाको गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दीपक कोईराला (रुपक)ले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले नोभल कोरोना भाईरस (कोभिड–१९ को असर सबैभन्दा धेरै पर्यटन व्यवसायमा परेको बताए । उनले कोभिडको असर कम हुँदै गएपनि पर्यटन व्यवसाय चलायमान हुन नसकेको भन्दै यसका लागि सरकारले नै योजना बनाउनुपर्नेमा जोड दिए । व्यवसाय जीवन रक्षा कोषलाई व्यवस्थित र वैज्ञानिक ढंगबाट परिचालन गरेर पर्यटन व्यवसायलाई टिकाईराख्नु अहिलेको आवश्यक्ता भएको उनको भनाई छ ।
आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटीआरसी)का गण्डकी प्रदेश संयोजक अग्नी कँडेलले कोभिडको असर शुरुमापनि र अन्तिमसम्मपनि पर्ने क्षेत्र भनेको पर्यटन भएकाले अझैपनि पर्यटन क्षेत्र चलायमान हुन नसकेको बताए । उनले अहिलेको सुसुप्त अवस्थामा पर्यटकीय गन्तव्य व्यवस्थापन गरेर कोभिडको असर सामान्य भएसँगै पर्यटक स्वागत गर्नका लागि तयार रहनका लागि तयारी अवस्थामा बस्नुपर्ने बताए । उनले पर्यटकीय क्षेत्र संरक्षणका लागि भन्दै समिति बन्ने तर काम नगर्ने परिपाटी चलिरहेको बताए । यसको पछिल्लो उदाहरण फेवाताल संरक्षण समिति बनेको उनको भनाई थियो । त्यस्तै उनले हिमागृह र रत्न मन्दिर खुलाउने भनिएपनि अन्तिम समयमा आएर स्थगित गरेको र अहिलेपनि नखुलाइएको भन्दै त्यसप्रति सरकारको ध्यान जान जरुरी भएको औंल्याए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसाय आंशिक रुपमा सञ्चालनमा आएपनि शतप्रतिशत घाटामा चलिरहेको बताए । कोभिडको असर कम हुँदै जाँदा व्यवसाय सञ्चालन हुने आशा गरेका पर्यटन व्यवसायी राजनीतिक अस्थिरता र दलको आन्दोलनका कारण पुनः निराश हुनुपरेको बताए । उनले पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउने हो भने सरकारले घोषणा गरेको हप्ताको २ दिन सार्वजनिक विदा र पेड होलिडे लागु गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटीआरसी)का गण्डकी प्रदेश संयोजक अग्नी कँडेल, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई र टेसा पोखराका संस्थापक अध्यक्ष कृष्णप्रसाद काफ्लेलाई दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा –२७ को प्रथम साधारणसभा…





