कास्कीको मादी गाउँपालिकाको केन्द्र साझा बेतेनीमा सार्ने निर्णयपछि उठेको विवाद उत्कर्षमा पुगेको छ । साविक याङ्जाकोटमा रहेको मादीको केन्द्र साझा बेतेनीमा सार्ने निर्णयलाई पहिलो प्राथमिकतामा राखेर मादी गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई पठाएको झण्डै १ वर्षपछि प्रदेश सरकारले त्यसलाई संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरेसँगै उठेको विवाद उत्कर्षतर्फ पुगेको हो । मादीको केन्द्र साविक याङ्जाकोट वा याङ्जाकोट देउराली नै हुनुपर्ने माग गर्दै आएका स्थानियले सो निर्णयबिरुद्ध मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो ।
असन्तुष्ट समूहले लगाएको ताला गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम)को निर्देशनमा बुधबार खोलिएपछि स्थानियले दिनभर धर्ना दिनुका साथै कार्यालयको गेट, कार्यकारी अधिकृत चढ्ने गाडी तोडफोड गरेका छन् । साथै उनीहरुले गा.पा.प्रमुख गुरुङ र प्रशासकीय अधिकृतको नेमप्लेट उप्काएर फालिदिएका छन् । कार्यालय खोलेर गा.पा.प्रमुख, प्रशासकीय अधिकृतसहितका जनप्रतिनिधि तथा कर्मचारी भित्र बसिरहँदा बाहिर भएका असन्तुष्ट पक्षले कार्यालयको गेट तोडफोड गरेर ढलाएका छन् । त्यस्तै प्रशासकीय अधिकृत चढ्ने ग.३ च.३३५२ नम्बरको स्कार्पियो गाडीको शिसा फोडिएको गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिए ।
आन्दोलनको नेतृत्व गरेका संघर्ष समितिका संयोजक तथा नेपाली कांग्रेस वडा नम्बर ३ का अध्यक्ष नारायण गुरुङले षडयन्त्रपूर्वक केन्द्र सार्ने निर्णयपछि आक्रोसित स्थानियले तोडफोड गर्नु सामान्य भएको बताए । उनले आन्दोलन जारी रहने बताउँदै ताला फोडेर खोलिएको कार्यालयमा पुनः ताला लगाइएको बताए । प्रशासकीय अधिकृतलाई गा.पा.प्रमुखको कार्यकक्षमा पठाएर पुनः तालाबन्दी गरिएको उनले बताए । प्रशासनिक काम गर्न नदिने नीति अनुरुप प्रशासकीय भवनमा तालाबन्दी गरिएको उनले बताए ।
असन्तुष्ट पक्षले स्थानिय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरित मादीको केन्द्र मादी–३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्ने निर्णय गरेको आरोप लगाएको छ । मादी गाउँपालिकाको छैटौं साधारण सभाले मादीको केन्द्र वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने बेतेनी, वडा नम्बर ३ स्थित याञ्जाकोट देउराली, वडा नम्बर ४ को तारकाङस्थित माजडी र साविक वडा नम्बर ३ स्थित याङ्जाकोटलाई बनाउन सिफारिस गर्ने सहमति भएपनि पालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले प्रदेश सरकार र संघ सरकारमा पठाउँदा बेतेनीलाई केन्द्र बनाउने निर्णय भएको भनेर गलत तरिका अप्नाएकाले विरोध स्वरुप तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक नारायण गुरुङले बताए । गाउँसभामा चारै विकल्पलाई खुल्ला छलफल र सहमतिबाट टुंगो लगाउने भनिएपनि अहिले आएर षडयन्त्रपूर्वक बेतेनीमा केन्द्र सार्न खोजिएको उनीहरुको आरोप छ ।
स्थानिय स्वायत्त शासन अनुसार पालिकाको केन्द्र सार्न कित सर्वसम्मत निर्णय गर्नुपर्ने हुन्छ यात दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । त्यसरी पारित गरेको निर्णय प्रदेश सभा र संघीय सरकारलाई सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । गाउँपालिका अध्यक्षसहित नेकपाको बर्चस्व रहेको पालिकाको गत पुसमा सम्पन्न साधारण सभामा साझा बेतेनीमै केन्द्र बनाउने प्रस्ताव आएको थियो । तर नेकपाको पक्षमा दुई तिहाई बहुमत १ मतले नपुग्दा केन्द्रका लागि ४ विकल्प सारिएको थियो । उक्त चार प्रस्तावमा पछि छलफल गरेर सहमति गर्ने यसअघीको सहमति अनुसार पुनः सहमतिको प्रयास गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ । तर अहिले छलकपट गरेर साधारणसभाको निर्णय भनेर गलत निर्णय सिफारिस भएको उनीहरुको आरोप छ ।
तालाबन्दी गर्ने समूह याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा छ । आफूहरु याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा भएपनि अहिले केन्द्र कहाँ राख्ने विवाद भन्दापनि केन्द्र सार्ने निर्णय प्रक्रियामा आफूहरुको असहमति रहेको आन्दोलनका नेतृत्वकर्ता नारायण गुरुङ बताउँछन् । केन्द्र बेतेनीमै सार्ने हो भने प्रस्तावपनि त्यहि अनुसार आउनुपथ्र्यो,उनले भने,‘प्रस्तावचाहिं एउटा आउने, अनि निर्णयचाहिं अर्कै भयो भनेर गलत सिफारिस गर्नु नाजायज छ, यो गलत हो ।’ उनले निर्णय नसच्चिएसम्म तालाबन्दी नखुलाउने अडान व्यक्त गरे ।
यसैबीच, संघर्षमा उत्रिएका असन्तुष्ट पक्षले सर्वोच्च अदलतमा मुद्धासमेत दायर गरेको छ । पालिकाको केन्द्र बेतेनीमा सार्ने मादी गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतलाई विपक्षी बनाएर असन्तुष्ट समूहले रिट दायर गरेको हो ।
गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम) भने गाउँसभाको निर्णय अनुसारै प्रदेश र संघीय सरकारमा सिफारिस गरेको दाबी गर्छन् । प्राथमिकता तोकेर ४ वटा विकल्प तोकिएको थियो,उनले भने,‘प्राथमिकताको पहिलो नम्बरमा बेतेनी नै भन्ने छ । ४ विकल्प मध्ये कुनै १ बनाउने विषयमा सबैको सहमति थियो । त्यसबेला ताली ठोक्ने अनि अहिले प्रदेश सरकारको निर्णय आएपछि विरोध गर्ने ? यो गलत हो ।’ उनले गाउँसभाको निर्णय भन्दा तलमाथि नहुने र नगर्ने अडान राखेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





