गण्डकी प्रदेशसहित पश्चिम नेपालमा पानी पर्न थाल्यो, उच्च पहाडी भेग हिउँले सेताम्मै

- यतिबेला, बाक्लो हिमपातका कारण किसानहरु उत्साहित र खुशी, व्यापारी चिन्तित, समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै उच्च पहाडी भेगका किसान चिन्तित थिए


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

यतिबेला, गण्डकी प्रदेशका भूमागमा हल्का वर्षा भएको छ।

गण्डकी प्रदेशको पोखरा लगायत प्रदेशअन्तर्गतका जिल्लाहरुमा आज (शुक्रबार) सामान्य वर्षा भएको समाचार प्राप्त भएको छ।

साथै, गण्डकी प्रदेशलगायत पश्चिम नेपालको अन्य ठाउँमा पनि पानी पर्न थालेको समाचारहरु प्राप्त भएका छन्।

आज (शुक्रबार) बिहानैदेखि मौसममा बदलाब आएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली जिल्ला मनाङ, मुस्ताङ लगायतका जिल्लामा हिमपात हुने महाशाखाले अनुमान लगाएको छ।

आज (शुक्रबार) पोखराको अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री र न्यूनतम तामपक्रम ९ दशमलव ४ डिग्री सेल्सियस कायम गरिएको छ। पोखरामा शून्य दशमलव २ मिलि लिटर पानी परेको महाशाखाले जनाएको छ।

यतिबेला सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ।

आज बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भइरहेको र उच्च हिमाली क्षेत्रमा हिमपात भएको अनुमान गरिएको महाशाखाले जनाएको छ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ। हिमपात भएसँगै उक्त क्षेत्रमा चिसो बढेको छ। बिहीबार राति र शुक्रबार विहान खप्तड क्षेत्रमा हिमपात भएको हो।
हिउँले खप्तडमा डाँडाकाँडा रमणीय देखिएको श्रोतले बताएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका अन्य उच्च भूभागमा पनि हिमपात भएपछि चिसो बढेको छ।

त्यस्तै, हिमाली जिल्ला हुम्लासहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात हुँदा यहाँका किसान खुशी भएका छन्।

बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ। हिमपातले जिल्लामा तापक्रम माइनस डिग्रीमा झरेको छ। जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको श्रोतले बताएको छ।

मौसममा आएको बदलीसँगै एक्कासी हिमपात शुरु भएर बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

श्रोतका अनुसार यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन्। खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट हिमपात हुँदा खुशी भएका छन्।

त्यस्तै, बाजुरामा पनि बिहीबार रातिदेखि हिमपात शुरु भएको समाचार प्राप्त भएको छ। भारी हिमपातसँगै अत्याधिक चिसो बढेकाले त्यहाँको जनजीवन कष्टकर भएको श्रोतले बताएको छ।

बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन्।
समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए। मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । बिहीबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका हुन् ।

लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भनेर चिन्तित बनेका यहाँका किसान बर्षासँगै हिमपात हुन थालेपछि अब बाली सप्रिने भन्दै उनीहरु उत्साहित भएका छन्।

अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन् । एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ। चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ।

निरन्तर हिमपात भइरहेकाले गाइबस्तु गोठभन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन् । चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिएको हो। बाजुरामा यो वर्ष पहिलो पटक हिमपात भएको हो। हिमपात नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो।

त्यहाँको बडिमालिका नगरपालिका, बूढीन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ।

आज दिउँसो र रातिसम्म प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ। यो क्रम शनिबारसम्म जारी रहनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।