ओलीको संगठन मण्डलेहरुको, बिचार सर्वसत्तावाद र राजनीति व्यक्तिवाद हो : भुषाल


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७७ मा प्रकाशित




नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री घनश्याम भुषालले केपी ओली चरम अवसरवादी भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाउनुको विकल्प नभएको बताएका छन् । नेकपा कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको ‘प्राज्ञिक÷बौद्धिक बहस विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै उनले त्यस्ता अवसरवादी ओलीलाई माधव नेपाल, झलनाथ खनालहरुले बेलैमा नचिनेर संरक्षण गरेकोसमेत टिप्पणी गरे । कम्युनिष्ट भएर छिरेका केपी ओलीको अनुहार क्लियर भएर प्योर फर्ममा आएको बताउँदै उनले भने,‘ओलीको संगठन मण्डलेहरुको संगठन हो, बिचारचाहिं सर्वसत्तावाद हो र राजनीतिचाहिं व्यक्तिवाद हो ।’ ओली बा आई लभ यू भन्ने पछिल्लो नाराप्रति टिप्पणी गर्दै उनले भने,‘यहि हो व्यक्तिवाद ।’ किनकी ओलीमा बैचारिकता नै नभएको उनको आरोप छ । नेता भुषालले ओलीले जनताको बहुदलीय जनवाद (जबज)लाई परिभाषित गर्ने क्षमता र योग्यतासमेत नरहेको टिप्पणी गरे । ओली अध्यक्ष भएपछि पार्टीको आगामी कार्यदिशामा के के लेखेको आफूलाई थाहा नभएको भनेर भनेको भन्दै उनले भने,‘यस्तो व्यक्ति अध्यक्ष भएपछि पार्टीको बिचार के हुन्छ ? सिद्धान्त के हुन्छ ? ।’ उनले ओली अध्यक्ष भएपछि नेताले नीति र नीतिले नेता नचिन्ने अवस्था आएको टिप्प्णी गरे ।

नृता भुषालले ओलीवादका रुपमा फाँसिजम आउन लागेकाले त्यसलाई रोक्नका लागिपनि ओलीलाई घुँडा टेकाउनैपर्ने बताएका हुन् । नेता भुषालले केपी ओली प्रवृति ओलीवादका रुपमा परिणत हुने खतरा औंल्याए । कम्युनिष्टले मात्र नभई कांग्रेसलाईपनि ओलीको सर्वसत्तावाद र फाँसिजमबारे बुझाउनुपर्छ,‘उनले भने,‘होईन ओलीलाई घुँडा नटेकाउने हो भने ओली प्रवृत्ति हावी हुन्छ, जसले गर्दाअर्को ओली बारम्बार जन्मिन्छ ।’ उनले यदी केपी ओलीलाई घुँडा नटेकाउने हो भने घनश्याम भुषालपनि घनश्याम ओली हुनसक्ने र त्यो प्रवृत्ति प्रचण्ड, माधव, झलनाथलगायतमा पनि देखापर्न सक्ने बताए । अदालतले ओलीको कदमबिरुद्ध फैसला सुनाएर संसद पुर्नस्थापना गरिदिएमा ओली र उनको समूहले अदालतसमेत कब्जा गर्न जाने उनको भनाई छ ।

नेता भुषालले ओलीले बिचारको नाममा मान्छे हँसाउने मात्र काम गरेको बताए । ‘मान्छे किन हाँस्छ त भन्दा यत्रो ठूलो पदमा पुगेको प्रधानमन्त्रीले यस्तो तुच्छ र बिचारहीन कुरा गर्छ भनेर हाँस्छ’–उनले भने । नेता भुषालले ओलीको अवसान अवश्यम्भावी भएको बताए । ओलीजी हार्नुहुन्छ,उनले भने,‘उहाँ संविधानका कारण हार्नुहुन्छ, जनताका कारण हार्नुहुन्छ ।’ जनताले ओलीलाई हराउने उनको भनाई थियो ।

कार्यक्रममा नेकपाका अर्का स्थायी कमिटी सदस्य वर्षमान पुनले ओली सर्वसत्तावादी र फाँसीवादी भएको आरोप लगाए । पुनले ओलीका कारण लोकतन्त्र र गणतन्त्र गुम्ने खतरा रहेको बताउँदै त्यसको रक्षाका लागिपनि ओलीलाई बिदा गर्नुपर्ने बताए । उनले प्रचण्ड–माधव नभएको पार्टी नेकपाको मूल पार्टी हुनै नसक्ने दाबी गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।