स्याङ्जाका सबै होम–स्टे पर्सिदेखि खुल्ने


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित




पोखरा । नेपालकै जेठो घरबास (होम–स्टे) मानिने सिरुबारी होम–स्टे यहि हप्ताबाट खुल्ने भएको छ ।

गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक मानिने सिरुबारी होम–स्टेसहित स्याङ्जाका सबै होम–स्टे माघ २७ गतेबाट खुल्ने भएको हो । गत चैत ११ गते लकडाउन शुरु भएदेखि बन्द रहेका सिरुबारी होम–स्टेसहित स्याङ्जा जिल्लाका ४९ वटै होम–स्टे माघ २७ गते मंगलबारदेखि सञ्चालनमा ल्याईने आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जा र होमस्टे एसोसियसन नेपाल, स्याङ्जाले आईतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को प्रभाव कम हुँदै गएको तथा कोरोनाबिरुद्ध खोप (भ्याक्सिन)समेत आएकाले होम–स्टे सञ्चालनमा ल्याउन लागिएको उनीहरुले बताएका छन् । आन्तरिक पर्यटन पुनरुत्थान समितिको पहलमा आवश्यक सुरक्षा मापदण्ड अप्नाई होम–स्टे पुनः सञ्चालनमा ल्याउन लागिएको होमस्टे एसोसियसन नेपाल स्याङ्जाका अध्यक्ष मोहन खनालले बताए ।

जिल्लाका होम–स्टे सञ्चालनमा आएसँगै यसको प्रवद्र्धनका लागि काम गरिने भएको छ । जस अन्तर्गत सरकारले गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिको योजनालाई अभियानका रुपमा सञ्चालन गर्दै प्रत्येक महिना १÷१ कार्यक्रम गरिने एशोसियसनका अध्यक्ष खनालले बताए । पहिलो महिना सिरुबारी गाउँपालिका परिचयात्मक भ्रमण आयोजना गरिने उनले जानकारी दिए ।

होम–स्टे प्रवद्र्धन अन्तर्गत अर्को महिना फागनु २७ देखि २९ गतेसम्म वालिङ नगरपालिका ४ को कुलमान घिसिङ झरनामा क्यानोनिङ महोत्सव तथा मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ ।

त्यस्तै, देशकै जेठो होम–स्टे सिरुवारीमा चैतमा होम–स्टेमा कोभिडको प्रभावबारे छलफल कार्यक्रम आयोजना गरिने उनले बताए ।

स्याङ्जाको आँधीखोला गाउँपालिकामा पर्ने देशकै जेठो होम–स्टे सिरुबारीमा २३ वटा घरमा ६० जना अटाउने क्षमताको होम–स्टे रहेको सिरुबारी सामुदायिक होम–स्टेका संयोजक जुम गुरुङले जानकारी दिए ।

यसअघी सिरुबारी होम–स्टेमा ब्रोइलर कुखुराको मासु खुवाउने गरेकोमा अबदेखि लोकल कुखुराको मासु खुवाउन थालिनेपनि बताए । ब्रोइलर खुवाउनु हाम्रो कमजोरी हो,उनले भने,‘यसलाई हामी सुधार्छौं । अबदेखि लोकल कुखुराकै मासु खुवाउन थालछौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।