बिजयपुर खोलामा पुल बनेसँगै मादीबासी हर्षित


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७७ मा प्रकाशित




पुल उद्घाटन गर्दै मन्त्री नेम्वाङ

पोखरा र सिक्लेस सडक खण्ड अन्तर्गत पर्ने बिजयपुर खोलामा पुल बनेको छ । पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस पुग्ने सडक खण्ड अन्तर्गत पर्ने पोखरा महानगरपालिका वडा नम्बर १३ र मादी गाउँपालिका वडा नम्बर ५ को सीमानामा पर्ने सिंडीकोमुख गारकाटेस्थित बिजयपुर खोलामा मोटरेबल पुल बनेको हो । २ वर्षअघी पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरेको पुलको सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गरे ।

२५÷२५ मिटरको २ वटा स्पान राखेर बनाइएको यो पुलको लम्बाई ५४.१७ मिटर छ । ११ मीटरको चौडाई रहेको पुलको दायाँ÷बायाँ दुबैतर्फ १.५ मिटरको फुटपाथ रहेको छ । ८ करोड १५ लाख १९ हजार २ सय ९७ रुपैयाँ लागत अनुमान गरिएपनि ५ करोड ७५ लाख २९ हजार १ सय २४ रुपैयाँमा ठेक्का सम्झौता भएर निर्माण सम्पन्न भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । रायमाझी÷द क्याराभान जेड.भी.काठमाडौंले २०७५ साल असार २१ गते सम्झौता गरेर २०७७ साल असोज १८ गते निर्माण सम्पन्न गरेको उनले बताए ।

पुल निर्माण भएसँगै मादीबासी हर्षित भएका छन् । पुल निर्माण भएपछि मादी गाउँपालिकाको पर्यटकीय गाउँहरु सिक्लेस, ताङतिङ, याङ्जाकोट, खिलाङ, भाचोकबासी मात्र नभई पोखरा महानगरपालिका वडा नम्बर २० को मौजालगायतका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने स्थानिय जनप्रतिनिधि हुमनाथ अधिकारीले जानकारी दिए । बिजयपुर खोलामा पुल नबन्दा त्यस क्षेत्रका बासिन्दालाई बर्खा याममा आवतजावतमा समस्या हुने गरेको थियो । बिजयपुर खोलामा बाढी आएको समयमा कयौं दिनसम्म पोखरा–सिक्लेस सडकमा गाडीपनि नचल्ने र स्थानियपनि आवतजावत गर्न सक्दैनथे । अब पुल बनेपछि भने राहत हुने जनप्रतिनिधि अधिकारीको भनाई छ ।

पुल उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास निर्माणको काम तिव्र गतिमा गरिरहेको बताए । उनले ओलीकै नेतृत्वमा देश सुरुङ मार्गमा प्रवेश गरेको भन्दै अबको केहि समयपछि रेलको युगपनि शुरु हुने बताए । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम शुरु भइसकेको र त्यसको परिणाम केहि महिनाभित्र देखिने उनको दाबी छ । मन्त्री नेम्वाङले विकासको काम भइरहँदापनि आफ्नै पार्टीका केहि नेताहरुले नदेखेको भन्दै भने,आँखा फुटेझैं विकास नदेख्नेहरुले संसद, सभा र विदेशमापनि केपी ओलीले गरेन भनेर बोल्ने गरेका छन् ।’ उनले विकास, समृद्धि र राष्ट्रियताको पक्षमा अडान राख्दा प्रधानमन्त्री ओलीबिरुद्ध षडयन्त्र गरेर हटाउने प्रयास भएपछि संसद विघटन गर्नुपरेको जिकीर गरे ।
मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले बिजयपुर खोलामा पुल बनाउने मादीबासीको सयौं वर्षदेखिको सपना अहिले आएर पूरा भएको बताए । उनले अब पोखरा–सिक्लेस सडक खण्डमा पिच गर्नुपर्ने भन्दै यसका लागि बजेट दिन मन्त्रीलाई आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।