विश्व कीर्तिमानी माउण्ट के टू आरोही टोलीलाई पोखरामा नागरिक अभिनन्दन


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित




तस्बीर : एजेन्सी

हिउँदमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ।

पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा सोमबार यहाँका नागरिकले टोलीको भव्य स्वागत गरे।

आरोहीको टोलीलाई पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गरेर बजार परिक्रमा गराइएको छ। विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड परिक्रमा गराइएको थियो। टोलीलाई ठाउँठाउँमा पुष्पगुच्छाले स्वागत गरेका थिए।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले यो नेपालको शिर उचो बनाउने निकै गर्विलो क्षण भएको बताए। ‘विश्वमाझ नेपाललाई थप चिनाउन सफल आरोही हिरोलाई पर्यटकीय नगरी पोखरामा भव्य स्वागत गर्न पाउनु निकै खुसीको कुरा हो,’ उनले भने।

अभिनन्दन कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले निकै चुनौतीपूर्ण रहेको केटू हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए।

आरोही दलका संयोजक निर्मल पुर्जा गण्डकी प्रदेशको म्याग्दी जिल्लाको भएकाले पनि यो प्रदेशको लागि गौरव भएको उनले बताए। कार्यक्रमको सहसंयोजक नेपाल पर्वातारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा पर्वतारोहण पर्यटनलाई प्रवद्र्धन गरेर विदेशी तथा नेपाली पर्यटकलाई पर्वतारोहणमा आकर्षण गर्न के टू हिमाल आरोहणले सकारात्मक सन्देश दिएको बताए। यसले साहसिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास उनको छ।

पाकिस्तानमा रहेको के टू हिमाल (८६११ मिटर) नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए। उक्त हिमालमा यसअघि हिउँदको समयमा कोही आरोही पुग्न सकेको थिएनन्।

निर्मल पुर्जा संयोजक रहेको आरोहरण दलमा नेपाली मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा थिए। सेभेन समिट आरोहणबाट सोना शेर्पाले सफल आरोहरण गर्न सफल भएका थिए। उक्त हिमालमा सन् १९८७/८८ को हिउँदमा पहिलो प्रयास गरिएपनि सफल आरोहण भने निर्मल पुर्जा नेतृत्वको टोलीले गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।