फाइल तस्बीर
प्रतिनिधिसभा विघटनविरुद्ध रिटमाथिको बहस आज (बिहीबार) सकिदैँ छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन्।
सर्वोच्च अदालत प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस अब धेरै समय लम्बाउने पक्षमा नरहेको अनुमान छ।
प्रधानन्यायाधीश राणाले बहस लम्बिँदै जाँदा अदालतले बोल्नुको अर्थ नहुने अवस्था आउनसक्नेतर्फ संकेत गर्दै निवेदक पक्षका कानुन व्यवसायीलाई बहस छिटो सक्न सचेत गराएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि माघ ३० गतेभित्र बहस सक्ने समय दिएपनि शुक्रबार (३० गते) सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले आजै (बिहीबार) प्रधानमन्त्रीको पक्षबाट बहस सकिने बताइएको हो। बहस गर्ने समय नपाउने भएपछि बुधबार प्रधानमन्त्री ओलीको पक्षबाट इजलासमा पुगेका दर्जन बढी कानून व्यवसायीले इजलासमा आफ्नो नाम टिपाएका थिए।
बुधबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, अन्जन न्यौपाने, माधवकुमार बस्नेत, रमेश गुरागाईं, श्रीधर पुडासैनी, देवी रेग्मी, कृष्णकुमार आङ्दम्बे, विजयप्रसाद मिश्रलगायतले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए।
यसअघि, प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट निवेदकका पक्षबाट ७२ कानून व्यवसायीले १३ दिन बहस गरेका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाका कानून व्यवसायीले बहस गर्नेछन्।
सापकोटाको पक्षबाट तीन कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरूको बहसपछि पुनः रिट निवेदक पक्षले जवाफी बहस गर्नेछन् । माघ १९ गतेदेखि सरकार पक्षको बहस सुरु भएको थियो।
समय चापका कारण छिटो बहस सक्न इजलासबाट प्रधानन्यायाधीश राणाले पटक–पटक कानून व्यवसायीलाई सम्झाइरहेका छन्। केहीलाई बहस नोट बुझाउन पनि उनले सुझाव दिएका थिए।
जवाफी बहसपछि ५ वरिष्ठ अधिवक्ता रहेको एमिकस क्युरीले आफ्नो राय राख्नेछ। फागुन पहिलो साताभित्र बहस सक्ने र फैसला लेखनमा केही दिन लाग्नेछ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो। त्यसविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा पक्ष र विपक्षमा बहस जारी छ। सरकारले वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ। रिट निवेदनको औचित्य रहँदै फैसला गर्नुपर्ने दबाबमा इजलास छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







