पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन १ गते पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले विहीबार पोखरामा पत्रकार भेटघाट गरेर जानकारी गराएको हो । प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरामा हुने गरेको प्रतियोगिता यस वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) कारण चरणबद्ध रुपमा गर्ने तयारी गरिएको छ । जस अन्तर्गत पहिलो चरणमा फागुन १ गते शनिबार प्रतियोगिताको मुख्य इभेन्ट खुल्ला म्याराथन र महिला हाफ म्याराथन प्रतियोगिता हुने आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।
पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगिता अन्तर्गत यस वर्ष ४२.१९५ किलोमिटर म्याराथन र महिला २१ किलोमिटरको हाफ म्याराथन फागुन १ गते हुनेछ । म्याराथनमा ४ देशका १५६ जना धावकहरु दौडिने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार नेपाल, जापान, वेलायत र उरुग्वेका खेलाडीहरु प्रतियोगितामा दौडिनेछन् । विदेशी धावक भएपनि उनीहरु नेपालमै बस्दै आएको मञ्च निकट श्रोतले जनाएको छ । प्रतियोगितामा नेपालका १३ जिल्लाका खेलाडीहरु दौडिने मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले जानकारी दिए । उनका अनुसार बागलुङ, तनहुँ, म्याग्दी, पर्वत, लमजुङ, गोरखा, कालिकोट, रुपन्देही, दाङ, पाल्पा, स्याङ्जा, धनकुटा र ताप्लेजुङका खेलाडीले नाम दर्ता गराएका छन् । त्यस्तै, विभागीय नेपाल प्रहरी र नेपाली सेनाका धावकहरुलेपनि दौडिनका लागि नाम दर्ता गराएका छन् ।
महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथनमा ६ जिल्ला र विभागीय टोलीका धावकहरुले दौडिनका लागि नाम दर्ता गराएका छन् । जस अनुसार महिला हाफ म्याराथनका लागि गोरखा, जुम्ला, कास्की, प्यूठान, दार्चुला, बागलुङ तथा विभागीय नेपाली सेना र नेपाल प्रहरीका धावकहरुले नाम दर्ता गराएका छन् । हाफ म्याराथनका लागि भारतीय १ महिलाले नाम दर्ता गरेपनि आइनसकेको प्रमुख कार्यकारी अधिकृत पाठकले बताए ।
प्रतियोगितामा भाग लिन चाहनेले माघ ३० गते बेलुकासम्मै नाम दर्ता गर्न पाउने ब्यबस्था गरिएको मञ्चले जनाएको छ । पोखरा बाहिरका धावकलाई समस्या नहोस् भनेर यस्तो ब्यबस्था गरिएको प्रमुख कार्यकारी अधिकृत पाठकले बताए ।
खुल्ला म्याराथन र महिला हाफ म्याराथन फागुन १ गते भएपनि अन्य इभेन्टहरु पछि हुने जनाइएको छ । खुल्ला १० किलोमिटर महिला तथा पुरुष प्रतियोगिता चैत १४ गते शनिबार हुनेछ भने ५ किलोमिटर छात्र तथा छात्रा, अपाङ्गता भएकाका लागि महिला तथा पुरुष ह्विल चेयर प्रतियोगिता र दृष्टिविहिन एकसय मिटर महिला तथा पुरुष दौड प्रतियोगिता बैशाख ४ गते शनिबार हुने भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।
अघिल्लो संस्करणमा हरेक पटक हुँदै आएको ‘रन फर फन’ इभेन्ट भने यस पटक स्थगित गरिएको छ । सहभागिलाई उर्जा थप्न आयोजना गरिदै आएको रन फर फन यस पटक कोभिड–१९को जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
मञ्चका अध्यक्ष गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुप नै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराउने, खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न र वर्षको एकदिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने आयोजकको उद्देश्य रहेको बताए ।
उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण जनता प्रभावित भएपनि उनीहरुलाई पनि कोभिडसँगै भिड्दै दैनिकीमा फर्किनुपर्ने सन्देश दिनका लागि प्रतियोगितालाई निरन्तरता दिइन लागेको बताए ।
म्याराथनमा प्रथम हुनेले नगद २ लाख, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै चौथो हुनेले सान्त्वना रुवस्प नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाटले जानकारी दिए ।
त्यस्तै, १० कि.मी. पुरुष–महिला दौडमा प्रथम, द्वितीय र तृतीयले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पाँच किलोमिटर छात्र–छात्रा दौडमा प्रथम, द्वितीय र तृतीयले क्रमशः १०, ७ र ४ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चले जनाएको छ । प्रतियोगितामा ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहीन महिला तथा पुरुष दौडमा प्रथम, दोश्रो र तेश्रोले क्रमशः ७, ५ र ३ हजार रुपैयाँ पुरस्कार पाउने रानाभाटले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







