महिलातर्फ एपिएफ र न्यू डाइमण्ड तथा पुरुषतर्फ आर्मी विजयी


     रासस     
     माघ २९ गते २०७७ मा प्रकाशित




तस्विर : उमेश पुन

पोखरा । पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको आज सम्पन्न खेलमा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र न्यू डाइमण्ड क्लब काठमाडौँ विजयी भएका छन् ।

यसैगरी पुरुषतर्फको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ २७ गतेदेखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा महिलातर्फ न्यू डाइमण्डले नेपाल पुलिसलाई ३–१ सेटमा जीत हात पार्न सफल भयो ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यू डाइमण्डले २७–२५, २९–३१, २७–२५ र २५–१६ मा जित निकालेको हो । यसैगरी एपिएफले आर्मीमाथि ३–२ को सेटमा विजयी हुन सफल भयो । एपिएफले २७–२५, १८–२५, २५–१७, २०–२५ र १५–७ अङ्कको विजय हासिल गरेको आयोजक संस्थाका सचिव प्रकाश बरालले जानकारी दिए ।

पुरुषतर्फ दुई विभागीय टोलीको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सोझो सेटमा एपिएफलाई पराजित गर्न सफल भयो । आर्र्मीले २५–२३,२५–२१ र २५–१८ को अङ्कले जीत निकालेको हो ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०-२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।