पोखरा । अदालतको आदेशपछि पनि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवैध उत्खनन् रोकिएको छैन । उच्च अदालत पोखराले अवैध उत्खनन् रोक्न आदेश दिएपनि माछापुच्छ्रे गाउँपालिकामा भने अवैध उत्खनन् गर्ने क्रम नरोकिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने माछापुच्छ्रे गाउँपालिकाको नदी घाटहरुबाट गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खनन्मा अदालतले रोक लगाएपनि स्थानिय ठेकेदारले भने निरन्तर काम गरिरहेको पाइएको हो ।
एक्याप क्षेत्र भित्रबाट नदीजन्य पदार्थ सामग्री निकाल्नेगरी गाउँपालिका र स्थानिय ठेकेदारबीच ठेक्का सम्झौता भएपछि सो विरुद्धमा उच्च अदालत पोखरामा दर्ता परेको थियो । गाउँपालिका र उत्खनन्को ठेक्का पाएकाहरुलाई विपक्षी बनाएर दिइएको रिटमा उच्च अदालत पोखराले पुस अन्तिम साता रिटको प्रारम्भिक सुनुवाई गर्दै माछापुच्छ्रे गाउँपालिका वडा नं १, २ र ३ अन्तर्गत सेती नदी र सार्दिखोला नदी छेउका घाटहरुबाट बालुवा, ढुँगा गिट्टी उत्खनन् र बिक्री नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी ग¥र्यो ।
तर अदालतको आदेश बिपरित ठेकेदारहरुले नदीजन्य पदार्थपनि उत्खनन् जारी राखे । सोबिरुद्ध आफूहरुले गाउँपालिका कार्यालयदेखि प्रशासनसम्मलाई गुहार्दापनि अवैध उत्खनन् गर्ने कार्य नरोकिएको स्थानियले बताएका छन् । दैनिक रुपमा अवैध उत्खनन् भइरहँदा गाउँपालिका र प्रशासन भने मुकदर्शक बनेर बसेको स्थानियको आरोप छ ।
यसैबीच, अबैध उत्खनन् रोक्न खोज्दा स्थानिय युवामाथि कुटपीट भएको आरोप लागेको छ । अबैध उत्खनन् भइरहेको देखेपछि रोक्न खोज्दा आफूमाथि कुटपीट भएको माछापुच्छ्रे गाउँपालिका घाचोकका गोपाल पोखरेलले बताएका छन् ।
अवैध रुपमा उत्खनन् गरेर नदीजन्य पदार्थ लैजान लागेपछि ट्रक रोक्न खोज्दा ठेकेदार पानबहादुर क्षेत्रीले आफूलाई कुटपीट गरेको पोखरेलको भनाई छ । कुटपीटबाट पोखरेलको आँखाको डिल भन्दा तल चोट लागेको छ । अवैध रुपमा उत्खनन् गरेर नदीजन्य पदार्थ लैजान लागेको देखेपछि ट्रक रोक्न खोजेँ,उनले भने,‘त्यसपछि ममाथि कुटपीट भयो, मलाई ज्यान मार्ने धम्कीसमेत दिइयो’
पोखरेलले कुटपीटबिरुद्ध पीडकमाथि कार्वाहीको माग गर्दै स्थानिय घाचोक प्रहरी चौकीमा निवेदन दिएका छन् । तर प्रहरीले पीडक क्षेत्रीलाई कानूनी दायरामा नल्याएको र ल्याउने पहलसमेत नगरेको पीडित पोखरेलले गुनासो गरे ।
कुटपिटको आरोप लागेका ठेकेदार पानबहादुर क्षेत्रीले भने सामान्य विवादमा धकेलाधकेल मात्र भएको प्रतिक्रिया दिए । आफूले नदीजन्य पदार्थको अवैध उत्खनन् नगरेको उनले दाबीसमेत गरे । बरु उल्टै आफू बाहेक अन्यले अवैध नदीजन्य सामग्री चोरी गर्ने गरेकोे उनको आरोप छ ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नदीजन्य सामग्री चोरी निकासी बढेको गुनासाहरु आएपछि रोक्नका लागि प्रशासनलाई पत्राचार गरिएको बताए । तर प्रशासनले रोक्ने तदारुकता नदेखाउँदा अवैध उत्खनन् रोक्न नसकिएको उनको भनाई छ ।
अदालतले उत्खनन् नर्गनु नगराउनु भनेपछि ठेक्का सम्झौता भएपनि अदालतको आदेश पालना गर्न आग्रह गरिएको अध्यक्ष गुरुङले बताए । स्वयमं ठेक्का पाएका व्यक्ति समेत विपक्षी रहेका छन् ।
हामी आँफैले रोक्ने अवस्था छैन,उनले भने,‘त्यसैले अवैध उत्खनन् रोक्नका लागि जिल्ला प्रशासन र जिल्ला समन्वय समितिलाई फैसला कार्यान्वयका लागि पठाएका छौँ ।’ अध्यक्ष गुरुङले एउटा बाहेक सबै घाटबाट उत्खनन्का लागि कम्पनीसँग गाउँपालिकामा सम्झौता भएको र उनीहरुले रकम जम्मा गरेपनि अन्तिम फैसला नआउँदा सम्म उत्खनन् नगर्न पत्र पठाइएको उल्लेख गरे ।
गाउँपालिकाका सूचना अधिकारी युवराज पौडेलले गाउँपालिका र निर्माण कम्पनीलाई मुद्धा परेकाले अन्तिम टुँगो नलाग्दा सम्म नदीजन्य सामग्री निकाल्नु अवैध र गैरकानूनी रहेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







