संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन : सभामुख अधिकारी


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानले संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् ।

पत्रकार महासं गण्डकी प्रदेशको दोश्रो साधारण सभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७२ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको दाबी गरेका हुन् ।

संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन,उनले भने,‘राजनीतिक वा अन्य केहि अधिकार कति छ भन्ने कुरा हो भने अर्कै कुरा भो ।’ उनले संविधान अनुसार चल्नु सबैको कर्तव्य भएकोसमेत बताए ।

सभामुख अधिकारीले संविधान भन्दा विपरित संसदले कानूनसमेत बनाउन नसक्ने बताए । साथै उनले पत्रकारहरुलाई संविधानको मूल मर्ममा रहेर पत्रकारिता गर्न आग्रह गरे । कसैलेपनि पित पत्रकारिता गर्न नहुने उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई प्रयोग गर्ने वा तर्साउने काम नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे ।

राजनीतिक उद्धेश्य बोकेका राजनीतिक दलहरुले आफू अनुकुल पर्दा प्रयोग गर्ने र अनुकुल नहुँदा तर्साउने काम नगर्न उनको आग्रह थियो । उपाध्यक्ष पोखरेलले दलहरुको पौठेजोरीमा नागरिक पिल्सिने कामसमेत नगर्न दलहरुलाई सचेत गराए । उनले लोकतन्त्रको पक्षमा महासंघ सँधै उभिएको भन्दै अहिलेपनि त्यसमा दृढ रहेको बताए ।

अहिले अलोकतान्त्रिक र असंवैधानिक कदम भएकाले महासंघले विरोध गरेको उनले प्रष्ट्याए । उनले संघ तथा प्रदेशको कानून बनाउने प्रक्रियामाथि आफूहरुको असहमति रहेको र कतिपय प्रावधान प्रेस स्वतन्त्रता विपरित रहेकाले त्यसलाई सच्याउनसमेत आग्रह गरे ।

यसैबीच, पत्रकार महासंघ गण्डकी प्रदेशको साधारण सभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवदन सर्वसम्मत पारित गरेको अध्यक्ष त्रिभूवन पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।