फेरि बल्यो मनाङको जङ्गलमा आगो


     एभरेस्ट आवाज    
     फागुन २ गते २०७७ मा प्रकाशित




तस्वीरः नवीन लामीछाने

मनाङ। हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उनको भनाइ छ ।

आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त टोलीले आगो निभाउने गरिरहेको छ । “हामीले हाम्रोतर्फबाट प्रयास गरिरहेका छौँ”, मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने ।उनले अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गका वन जलिरहँदा खोज अनुसन्धान्न प्रक्रियामा ढिलाइ गरेको आरोपसमेत लगाए । मनाङमा भएका आगलागीमा अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वन परेको तथा यसको जिम्मेवारी एक्यापले लिनुपर्नेमा छिटो तथा तदारुकताका साथ नभएको स्थानीयवासीको आरोप छ ।

“जङ्गल जलिरहेको छ, हाम्रा कर्मचारी र स्थानीयवासी परिचालन भएका छन्, अनुसन्धानको दायरा कसिलो बनाएका छौँ, कसरी आगो लाग्यो भन्ने कुरा अझै पत्ता लगाउन सकेका छैनौँ”, अन्नपूर्ण संरक्षण क्षेत्रका मनाङ प्रमुख लेखनाथ गौतलमे भने । उनले स्थानीयवासीले मुख नखोल्दा आगलागीको कारण तथा व्यक्ति पत्ता लगाउन र अनुसन्धान गर्न कठिन भएको बताए । यसभन्दा अघि पनि दुई पटकसम्म मनाङको विभिन्न जङ्गलमा आगलागी भएको थियो । आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन । कसले र किन पटक–पटक मनाङका जङ्गलमा आगो लगाएको हो भन्नेबारे अन्योल भएको छ । यसरी बाराम्बार यस्ता गतिविधि दोहोरिरहँदा हिमाली जडीबुटी र लोपोन्मुख जनावरको विनाश भएको स्थानीयवासीको भनाइ छ । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।