नेप्सेमा उछाल, बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब


     रासस     
     फागुन ३ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै हल्ला चलेका कारण आइतबार नेप्सेमा करेक्सन देखिएको थियो ।

आइतबार ३३.३३ अङ्कले ओरालो लागेको नेप्से आज ९२.४२ अङ्कले बढेर दुई हजार ५८६.०१ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० को बिन्दु पहिल्याएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.३३ बिन्दुले बढेर ४६९.४४ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिपछि कारोवार रकम उच्च बिन्दुमा पुगेको छ । कूल २०५ कम्पनीको दुई करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ मूल्यमा खरिद बिक्री भएको छ ।

आजको कारोवारपछि बजार पूँजीकरण साढे ३५ खर्बमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख ७० हजारको हाराहारीमा पुगेको छ ।

कारोबारका आधारमा आज जीवन बीमा, निर्जीवन बीमा, लघुवित्तको शेयरमा लगानीकर्ता आकृर्षित भएका छन् । कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ ।

बैंकिङ ५७.३२, व्यापार ७१.६, होटल २४.१, विकास बैंक ४९.९१, जलविद्युत् ६४.४५, वित्त ३४.७५, निर्जीवन बीमा ४४७.४४, उत्पादन १५९.६६, अन्य ६२.६१, लघुवित्त ३७०.३, जीवन बीमा ६९७.९१, सामूहिक लगानी कोष ०.१८ मा पुगेको छ । कारोवारका आधारमा आज निर्धन उत्थान लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७० करोड ४८ लाख ४९ हजार ९४१ बराबरको कारोवार भयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।