प्रधानमन्त्री ओलीले देशलाई ध्रुविकरणमा लगे : देउवा


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०७७ मा प्रकाशित




नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई यसो गर र उसो गर भनेर भन्न नहुने बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले संसद विघटन सम्बन्धी मुद्धामा अदालतलाई यहि गर भनेर राजनीतिक दलले भन्न नहुने बताएका हुन् । अदालतले जे फैसला गरेपनि कांग्रेसलाई मान्य भएको बताउँदै उनले भने,‘अदालतलाई हामीले यसो गर, उसो गर भन्ने होइन । सडकमा आन्दोलन गर्ने होइन ।’ उनले अगाडि थपे,‘संसद विघटन सम्बन्धी मुद्धा अदालतमा बिधाराधीन छ, अदालतको फैसला हामी मान्छौं, अदालतले पुर्नस्थापना भनेपनि हामी मान्छौं, चुनाव भन्यो भने चुनावमा जान्छौं ।’

सभापति देउवाले जुलुश र प्रदर्शनमा कति जनता सहभागि भए भन्नेले अदालतको फैसलामा कुनै अर्थ नहुने बताए । जुलुशमा कति मान्छे सहभागि भए । अदालतलाई किन चाहियो ?, उनले भने,‘ओली र प्रचण्ड–माधव दुबै पक्षमा जनता सडकमा छन्, कसको धेरै भनेर सडकमा हामीले किन प्रदर्शन गर्ने ? यसको काम छैन ।’ उनले आन्दोलन गर्नलाई कांग्रेस पैसापनि नभएको बताउँदै अगाडि थपे,‘हामी ठाउँ ठाउँमा आन्दोलनका लागि बोलाउनपनि सक्दैनौं, जब बोलाउनै सक्दैनौं भने आन्दोलन कसरी गर्ने ? ।’ उनले पार्टीको क्रियाशिल सदस्यता दिदा मारामार हुने भएपनि पार्टीले राखेको कार्यक्रम र मिटिङमासमेत ती सदस्य नआउने गरेको गुनासो गरे ।

सभापति देउवाले ओलीले हठात रुपमा संसद विघटन गरेर देशमा ध्रुविकरण गराएको आरोप लगाए । संसद विघटनलाई लिएर अहिले देशमा धेरै ठूलो ध्रुविकरण छ, उनले भने,‘संवैधानिक हो कि असंवैधानिक ? संसद पुर्नस्थापना कि निर्वाचन ? यो विषयमा देशभरि नै पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ ।’ उनले संसद विघटनको भित्रपनि पक्ष र विपक्षमा बहस भइरहेको भन्दै यहि कारण पार्टीमा पनि यहि विषयमा दिनदिनै छलफल र बैठक चलिरहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।