संसद पुर्नस्थापना नभए मुलुक बर्बाद हुन्छ : कांग्रेस बरिष्ठ नेता पौडेल


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०७७ मा प्रकाशित




देउवापछि बोलेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वलाई जे मन लाग्यो त्यहि बोल्दै नहिंड्न चेतावनी दिए । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौं फर्किने फ्लाईटका कारण पौडेलभन्दा पहिले बोलेका कांग्रेस सभापति देउवाले कांग्रेसले संसद पुर्नस्थापना वा निर्वाचन मध्ये कुनैपनि विषयमा नलागी अदालतको फैसला मान्ने बताएपछि आक्रोसित बनेका पौडेलले भने,‘केपी ओलीको कदम अलोकतान्त्रिक, तानाशाही र अधिनायकवादी हो भनेर कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको छ, नेताहरुचाहिं जनतालाई कन्फूयजनमा पारेर हिंड्ने ? जे मन लाग्यो त्यहि बोल्दै हिंडने ? ।’ उनले लोकतन्त्रमाथि प्रहार हुँदा लोकतन्त्र पक्षधर बोल्नुपर्ने बताए । लोकतन्त्रमाथि प्रहार हुँदापनि मौन बसियो भने कर्तव्यच्यूत हुने भन्दै उनले भने,‘हामीले अदालतलाई धम्क्याउने होइन, हामी अदालतसँग जिकीर गर्छौं, त्यो गरेनौं भने कर्तव्य च्यूत हुन्छौं । सबै कुरा अदालतले गर्छ भनेर पन्छाएर हिंड्यौं भने हाम्रो के काम ? पार्टीको के काम ? नेताको काम ? ।’ उनले ७० वर्षदेखि लडेर ल्याएको संविधान र परिवर्तनलाई उल्टाउन देशी विदेशी षडयन्त्रहरु भइरहेको भन्दै यसको संरक्षण अब सर्वोच्च अदालत र त्यसमा रहेका न्यायमूर्तिहरुले गर्नुपर्ने बताए ।

बरिष्ठ नेता पौडेलले अदालतले पनि जे मन लाग्यो त्यो फैसला गर्न नपाउने बताए । अदालतले फैसला गर्दा संविधान अनुसार फैसला गर्नु पर्ने उनको भनाई छ । अदालतलेपनि फैसला गर्दा संविधान बाहिर गएर फैसला गर्न सक्दैन र पाउँदैन,उनले भने,‘अदालतलेपनि फैसला गर्दा संविधानमा जे लेखेको हुन्छ त्यहि हुनुपर्छ ।’ यो भन्न कांग्रेसले मुख लुकाउन नहुने उनले बताए ।

बरिष्ठ नेता पौडेलले केपी ओलीले संविधान फाल्ने नियतले संसद विघटन गर्ने कदम चालेको आरोप लगाए । लोकतन्त्रमाथि आघात पर्दा कांग्रेस मौन बस्न नहुने भन्दै उनले अगाडि थपे,‘म सोझो मान्छे हुँ, त्यसैले म सोझो कुरा जान्दछु, लोकतन्त्रको सबभन्दा ठूलो नेता हुने, लोकतन्त्रमाथि आघात पर्दा अदालतलाई देखाएर, बस्ने कुरा म जान्दिन, यस्तो घुमाउरो कुरा गर्न मलाई आउँदैन ।’ उनले संसद पुर्नस्थापना हुनैपर्ने बताए । मलाई विश्वास छ संसद पुर्नस्थापना हुन्छ र संसद पुर्नस्थापना हुनैपर्छ,उनले भने,‘नभए यो मुलुकमा बर्बादी हुन्छ । मुलुकमा गृहयुद्धको स्थिति आउन सक्छ । अफ्गानिस्तानको अवस्थातिर देश जानसक्छ ।’ यसबाट देशलाई बचाउने जिम्मेवारी सर्वोच्च अदालतको काँधमा आएको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।