तस्बीर: एजेन्सी
पोखरालाई पश्चिम क्षेत्रको पर्यटनसँग जोड्नेगरि साझेदारी थालिएको छ।
त्यसका लागि नेपालगञ्ज र पोखराबीच प्रवद्र्धनात्मक हवाई सेवा थालनीसहित दुईवटै गन्तव्यका पर्यटन व्यवसायी एक–अर्काको सहरमा आउ–जाउ गर्दै पर्यटनमा सहकार्य थालेका हुन्।
नेपालगञ्ज र आसपासका क्षेत्रका पर्यटकलाई पोखरा ल्याउन र पोखरा भेगका पर्यटकलाई नेपालगञ्जसहित पश्चिम क्षेत्रका गन्तव्यको घुमघाममा पठाउने पहलस्वरुप यो अभियान थालेको दुवै गन्तव्यका पर्यटन व्यवसायीले बताएका छन्।
पर्यटनमा साझेदारी गरेका दुवै गन्तव्यका व्यवसायी अहिले एक–अर्काको सहरमा प्रवद्र्धनात्मक गतिविधिमा व्यस्त छन्।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकमार्फत उकास्ने प्रयास स्वरुप यो प्रयास थालेको व्यवसायीले बताए। नेपालगञ्ज नाका हुँदै भित्रिएका भारतीय पाहुनालाई पनि यो सेवाले सहजता थप्ने व्यवसायीको भनाई छ। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी च्याप्टर र नाट्टा नेपालगञ्जबीचको साझेदारीमा एक–अर्काको गन्तव्यको प्याकेजमा पर्यटक घुमाउने योजना व्यवसायीको छ।
नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले दुईवटा गन्तव्यको यो पहलले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए। उनका अनुसार नेपालगञ्ज र पोखराबीच लामो समयदेखि हवाई सेवा सञ्जालको प्रयास भएको पनि थियो। तर, त्यसमा उत्तिसारो प्रगति नभएपछि अहिले सिता एयरको डोर्नियर जहाजबाट चार्टर उडान थालिएको छ। यो उडान सातामा २ दिन (आइतबार र शुक्रबार) हुनेछ। एकतर्फी जहाज भाडा ५ हजार रुपैयाँ तोकिएको छ।
‘नेपालगञ्ज नाका हुँदै भित्रिने भारतीय सहरका पर्यटकलाई पोखरासम्म आउ–जाउमा पनि सिधा उडानले सहज हुनेछ। त्यस्तै, पश्चिम नेपालका गन्तव्य घुम्न जान चाहेका पोखरा आसपासका क्षेत्रका पर्यटकलाई पनि सजिलो हुनेछ,’ सिग्देलले भने, ‘दुवै गन्तव्यलाई यो सेवाले प्रवद्र्धन गर्न सहज हुने अपेक्षा छ ।’
नेपालगञ्ज गएका पर्यटकले प्याकेज अन्तर्गत आस–पासका क्षेत्र घुम्न पाउनेछन् भने पोखरा आएका पर्यटक पनि प्याकेजमै रमाउन पाउने व्यवसायीको भनाई छ।
नेपालगञ्ज हुँदै रारा, फोक्सुन्डो, बर्दिया राष्ट्रिय निकुञ्ज, कैलाश मानसरोवर जस्ता महत्वपूर्ण गन्तव्यसम्म पाहुना पठाउन यसले सहजता थप्ने अपेक्षा व्यवसायीको छ।
त्यसबाहेक नेपालगञ्ज नजिकको भारतीय सहर लखनउ, देहरादुनका भारतीय पर्यटक सिधै र छोटो समयमा पोखरा भित्र्याउन पनि यसले सघाउने उनले बताए। नेपालगञ्ज क्षेत्रबाट आन्तरिक भन्दापनि भारतीय पर्यटकलाई हवाई उडानमार्फत पोखरा भित्र्याएर बढी लाभ लिन सकिने व्यवसायीको भनाई छ।
नेपालगञ्ज क्षेत्रका होटलले मानसरोवर जाने भारतीय पर्यटकबाट बढी लाभ लिएको र तीमध्ये केही पर्यटकलाई मात्र पोखरा पठाउन सक्ने हो भने दुवै गन्तव्यको प्रवद्र्धन हुने व्यवसायीको भनाई छ।
‘बर्दीया, रारा, फोक्सुन्डो, मानसरोवर लगायतका गन्तव्यलाई पोखरासँग जोड्ने पहल थालेका हौ,’ नाट्टा नेपालगञ्जका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘आन्तरिक पर्यटनलाई देश घुमाउने योजना पनि हामिले थालेका हौ।’
हवाई उडानले आउ–जाउमा छिटो बनाउने र त्यसले पाहुनालाई घुम्न प्रोत्साहन थप्ने नाट्टा नेपालगञ्जका अध्यक्ष सिग्देलको भनाई छ। उनका अनुसार प्रवद्र्धनात्मक रुपमा थालिएको यो सिधा उडान एकमहिनासम्म चल्नेछ।
यो अवधिमा दुईतर्फी गरि १६ वटा उडान हुनेछन्। पोखरालाई नेपालगञ्जसम्म मात्र नभई सुदूरपश्चिम, मध्यमपश्चिम, भारतको लखनउ पनि जोड्न सघाउने उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







